ढल्केवर, धनुषा
मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी विपद् जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ ।
सिरहाको कर्जना नगरपालिका बन्दिपुरस्थित कमला नदीमा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीले संयुक्त रुपमा विपत्त व्यवस्थापन अभ्यास गरेको हो । कमला नदीमा १५ गतेदेखि अभ्यास थालिएको थियो ।
प्रयोगात्मक अभ्यासको अन्तिम दिन बिहिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको उपस्थित रहेको थियो ।
विपत्त व्यवस्थापन अभ्यास कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्राकृतिक विपत्तबाट क्षति न्यून गर्न सङ्घ, प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपत्त व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री राउतले मनसुनमा बाढी तथा डुबान, गर्मीमा आगलगी र चिसो मौसममा अत्याधिक चिसोका कारण सबैभन्दा बढी प्रभावित हुने मधेश प्रदेश भएकाले तीन तहको सरकारको सहभागितामा विपत्त व्यवस्थापन प्राधिकरण गठन गरेर उद्दारको कार्यमा लाग्न सके क्षति न्यून गर्न सकिने जानकारी दिनुभयो ।
उहाँले यसका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यो प्रस्ताव पेश गरेको बताउनुहुँदै तीन वटै सुरक्षाकर्मीको सहभागितामा भएको यो विपत्त व्यवस्थापन अभ्यासबाट आउने दिनमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यासको क्रममा बाढी तथा डुबानमा परेको अवस्थामा कसरी उद्दार गरिन्छ भनेर उदाहरण (डेमो) प्रस्तुत गरिएको थियो । अभ्यासको क्रममा बाढीले बगाउँदै ल्याएको मानिसलाई कसरी उद्दार गर्ने र खोलाको बीच भागलगायत कस्तो अवस्थामा कुन सामग्रीको प्रयोगबाट उद्दार गर्ने अभ्यास गरेर देखाइएको थियो ।
अभ्यासकै खोलको बीच भागमा फसेका दुई जनाको हेलिकप्टरद्वारा उद्दारलगायत विभिन्न अभ्यास गरेर देखाइएको थियो ।
विपत्त व्यवस्थापन अभ्यास कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहलगायत नेपाली सेना सशस्त्र प्रहरी बल र जनपद प्रहरीका उच्च अधिकारीहरुको उपस्थित रहेको थियो ।