नागरिकता विधेयक फिर्ताविरुद्ध ढल्केवरमा प्रदर्शन

|

ढल्केवर, धनुषा

सरकारले नागरिकता विधेयक फिर्ता लिएको बिरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ । बुधबार ढल्केवर चौकस्थित रहेको पार्क अगाडि नागरिकता विहिन युवाहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीहरुले “नेपाल सरकार मुर्दावाद, नागरिकता विधेयक छिटो दर्ता गर, संविधानको धारा लागू गर जस्ता पर्चा तथा ब्यानर बोकेर सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनमा नागरिकता विहिन संषर्घ समितिका केन्द्रीय अध्यक्ष इन्द्रजीत साफीलगायत नागरिकता विहिन युवाहरुको सहभागिता थियो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

२०७५ सालमै सरकारले ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको थियो ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

नागरिकता विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् ।