तीन महिने सिलाई कटाई तालिम सम्पन्न

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरमा सञ्चालित तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । मोडर्न इलेक्ट्रोनिक्स इन्स्टिच्यूट जनकपुरद्वारा सञ्चालित तीन महिने सिलाई कटाई तालिम विहिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

समापन कार्यक्रमका प्रमुख अथिति तथा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले यस्तो तालिमको आयोजना भइरहनुपर्ने बताउँदै मोडर्न इलेक्ट्रोनिक्स इन्स्टिच्यूटसँग सहकार्य गरेर विभिन्न सीप तथा रोजगारमूलक तालिमको आयोजना गर्ने बताए ।

उपप्रमुख बुढाथोकीले नगरपालिकाले सीपमूलक तथा रोजगारमूलक तालिमलाई प्राथमिकतामा राखेर अघि बढेको र आगामी आर्थिक वर्षमा समेत विभिन्न रोजगार मुलक तालिमको आयोजना गर्ने जानकारी दिए ।

कार्यक्रममा मिथिला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जोगी महतोले महिलाहरुलाई स्वरोजगार बनाउन यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विपन्नवर्गका समुदायलाई समेटर गरिएको तालिम प्रभावकारी र फलदायी सावित हुने बताउँदै आयोजक मोडर्न इलेक्ट्रोनिक्स इन्स्टिच्यूटका सञ्चालक राजुकुमार साहलाई बधाइसमेत दिए ।


कार्यक्रममा मोडर्न इलेक्ट्रोनिक्स इन्स्टिच्यूटका सञ्चालक साहले पूर्वमन्त्री रघुवीर महासेठको पहलमा यस क्षेत्रका युवाका लागि विभिन्न सीपमूलक तथा रोजगारमूलक तालिमको आयोजना गर्ने बताए । उनले यस नगरपालिकामा मात्रै नभएर यो क्षेत्रमै मोडर्न इलेक्ट्रोनिक्स इन्स्टिच्यूटको माध्यमबाट तथा पूर्वमन्त्री महासेठको विशेष पहलमा तालिमको आयोजना गरिने भने ।

कार्यक्रममा पूर्व वडाध्यक्ष लक्ष्मी महतो, नगरपालिकाको योजना प्रमुख, कार्यपालिका सदस्यलगायत स्थानीयवासीको उपस्थित रहेको थियो ।