तेली जातिका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

|

ढल्केवर, धनुषा

तेली जातिका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । वैशाख महिनामा सम्पन्न स्थानीय तहको चुनावमा धनुषाको विभिन्न पालिकामा निर्वाचित तेली जातिका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

उनीहरुलाई तेली कल्णण समाज नेपाल जिल्ला कार्यसमिति धनुषाले शनिबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उक्त सम्मान कार्यक्रममा मिथिला बिहारी नगरपालिकाकी उपमेयर शोभा साहलगायत १८ जना वडाध्यक्ष र १७ जना वडा सदस्यलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई स्वजाति तथा पूर्वमन्त्री अरविन्द साह, जिल्ला अध्यक्ष लक्ष्मी साह र केन्द्रिय बरिष्ठ उपाध्यक्ष जगदिस साहले संयुक्तरुपमा अबिरमाला तथा गमछा ओढाएर सम्मान गरेका थिए ।


सम्मान कार्यक्रममा बिशिष्ठ अथिति अखिल भारतीय तैलिक साहु महाजनका राष्ट्रिय उपाध्यक्ष शिवकुमार साहले बिशाल देश भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी तेली जातिकै भएको बताए । उनले ब्रिटिस शासकबाट भारतलाई आजाद दिलाउने महात्मा गान्धी र संविधान निर्माता बाबा अम्बेडकरसमेत तेली जातिको भएको भन्दै भारतमा थुप्रै तहमा तेली जाति अगाडि बढ्दै गएको भने ।

उपाध्यक्ष साहले नेपालमा तेली जाति डाक्टर, इन्जिनीयर, शिक्षक बनेर बागडोर सम्भाल्दै गएको भएपनि राजनीतिक क्षेत्रमा न्यून सहभागिता रहेकाले राजनीतिक क्षेत्रमा पनि तेली जातिको पहुँच हुनुपर्ने भने । उनले जातिय एकता देखाउन भएपनि जनकपुरको बारह बिघा मैदानमा बिशाल सभा गर्न आयोजक समितिलाई सुझाव दिए ।

यस्तै, मेयर प्रत्यासी विपि साहले चन्दा दिने समूहको रुपमा मात्र नरहेर राजनीतिक क्षेत्रमा पनि तेली जातिले नेतृत्वदायी भूमिकामा अगाडि बढ्नुपर्ने बताए । राजनीतिक क्षेत्रमा नेतृत्वमा पहुँच नपुगेसम्म तेली जातिको उत्थान नहुने भन्दै साहले आफू चुनाव लडेको पालिकामा पनि तेली समुदायको बाहुल्यता रहेपनि स्वजातिय सहयोग नपाएकोप्रति दुःखेसो पोखे ।

यसैगरी, अर्का मेयर पदका प्रत्यासी जानकीराम साहले स्वजातिय युवालाई समेटर प्रशिक्षण कार्यक्रम चलाउनुपर्ने बताए । जातिय उत्थानका लागि युवा सहभागिता आवश्यक भएकाले युवाहरुलाई प्रशिक्षण दिनुपर्ने उनले भने ।

कार्यक्रमका अधिकांश वक्ताले तेली जातिको उत्थानको विषयमा बोलेका थिए ।