बचत गर्ने बानीको विकासले फेरिँदै विपन्न महिलाको आर्थिक अवस्था

|

विजय साह
ढल्केवर, धनुषा

धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, डुमरियाकी ३५ वर्षीया धनेश्वरी सादा दुइ–चार सय रुपिँया सापटी माग्दा पनि पाउँदैन्थ्यो । छोराछोरी बिरामी पर्दा उपचारका लागि होस् कि अन्न घटेर भोकै बसेको बेला गाउँघरमा हुने खानले ऋण दिँदैन्थ्यो । ऋण फर्काउन आयस्रोत नदेखर साहुले ऋण दिन मान्दैन्थ्यो ।

डुमरिया गाउँमा ऐलानी जग्गामा सानो छाप्रोेमा बस्दै आएकी धनेश्वरीको श्रीमान वेरोजगार रहेकाले उनलाई कसैले सापटी पनि दिँदैन्थ्यो । तर अहिले उनको आर्थिक अवस्था फेरिएको छ । श्रीमान वैदेशिक रोजगारमा गएपछि र बचत गर्ने बानीको विकास गरेपछि उनको आर्थिक अवस्थामा सुधार आएको छ । अव भने ऋण खोज्न साहु महाजन कहाँ जान छोडेकी छन् ।

धनेश्वरीले आफूजस्तै विपन्न महिला मिलेर बचत समूह गठन गरेकी छन् । बचत समूहमा फुजुल खर्च कटौती गरेर जोगाएको पैसा जम्मा गर्ने गर्छिन । र काम परेको बेला सोही समूहबाट न्यून ब्याज शुल्कमा समस्या टार्छिन ।

गणेशमान चारनाथ नगरपालिकामा विगत डेढ दशकदेखि विभिन्न समाजिक क्षेत्रमा कार्य गर्दै आएको आसमान नेपालले शसक्त परियोजना अन्तर्गत आर्थिक, समाजिक र राजनीतिकबाट पछि परेकी महिलालाई आत्मनिर्भर हुन सिकाएपछि धनेश्वरी जस्ता सयौं महिलाको आर्थिक अवस्थामा सुधार आएको छ ।


शसक्त परियोजनाले आर्थिक, समाजिक र राजनीतिक क्षेत्रबाट पछि परेकी महिलालाई समेटर समूह गठन गरिदिएको छ । समूहका महिलालाई आर्थिकरुपले सक्षम बन्न बचत गर्ने बानीको विकास, समाजमा आफूलाई अब्बल देखाउन समाजिक ज्ञान र राजनैतिक क्षेत्रमा पनि आफ्नो उपस्थित जनाउन शिक्षा प्रदान गर्दै आएको छ ।

विगत डेढ दशकदेखि शिक्षा, स्वास्थ्य र बालविवाह न्यूनिकरण लगायत विभिन्न समाजिक उत्थानका क्षेत्रमा कार्य गर्दै आसमान नेपालले गणेशमान चारनाथ नगरपालिकामा चार वर्षदेखि शसक्त परियोजना कार्यक्रम गर्दै आएको छ ।

परियोजना संयोजक संगीता साहका अनुसार नगरपालिका क्षेत्रभित्र २४ वटा महिला आत्मनिर्भर समूह गठन गरिएको छ । एउटा समूहमा १५ देखि २० जना महिलाको सहभागिता छ । समूहका महिलाले एक सयदेखि पाँच सय रुपियाँ मासिक बचत गर्ने गरेकी छन् ।

यसरी बचत गरिएको रकम आवश्यक पर्दा समूहका सहभागी महिलाले न्यून ब्याजमा लिएर आफ्नो गर्जो टार्ने गरेको उनले बताइन् ।
बचत गर्ने बानीको विकास भएपछि थोरै रकमका लागि साहु महाजनका मुख ताक्ने विपन्न महिला अहिले आफैले बचत गरेको रकम चलाएर काम चलाउँछिन्, संयोजक संगीताले भनिन् । उनले भनिन्, नगरपालिका क्षेत्रमा अहिले २४ वटा बचत समूह गठन गरिएको छ । यस्तै विपन्न महिलालाई समेटर ६४ वटा समूह गठन गर्ने परियोजनाको लक्ष्य छ ।