अनुदानमा आधुनिक कृषि उपकरण वितरण

|

विजयकुमार साह

धनुषाको मिथिला नगरपालिकाले बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा तीनवटा पावर ट्रिलर, तीनवटा रिपर, एउटा थ्रेसर मेसिन र ७२९ वटा स्प्रे मेसिन किसानलाई वितरण गरेको हो ।

नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले किसानलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्न नगरपालिकाले योजना बनाएर किसानलाई विभिन्न कृषि उपकरणहरु वितरण गर्दै आएको बाँड्दै आएको जानकारी दिनुभयो ।

आधुनिक कृषि उपकरणको प्रयोगबाट कम लागतमा कृषि उत्पादन बढाउन सकिने हुँदा प्रविधिको उपयोग गरी लाभ लिनसमेत नगर प्रमुख महतोले अनुरोध गर्नुभयो ।

मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महतोले प्रधानमन्त्री आधुनिकीरण धानबाली पकेट क्षेत्र लालगढबाट छनौटमा परेका मोहनकुमार खतिवडा, शान्तिबहादुर कार्की र मुकुन्दप्रसाद कोइरालालाई खनजोत र कटान गर्ने पावर ट्रिलर मेसिन वितरण गरिएको बताउनुभयो ।

यस्तै, चुरेचाँदनी कृषक समूह बाहुनमारालाई धानगहुँ कटान गर्ने एक थान थे्रसर मेसिन र किटनाशक औषधि छर्ने स्प्रे मेसिन ७२९ जनालाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषि शाखा प्रमुख महतोले दुई लाख ६० हजार मुल्यको पावर ट्रिलर, तीन लाख ८५ हजार मुल्यको थ्रेसर र तीन हजार सात मुल्यको स्प्रे मेसिनहरु नगरपालिकाको आधा अनुदानमा वितरण गरिएको भन्नुभयो । गोरखापत्र दैनिकबाट