![](https://gatilokhabar.com/wp-content/uploads/2022/07/295243848_625766745339121_4403713887865901346_n.jpg)
ढल्केवर, धनुषा
धनुषाको धनुषाधामस्थित रहेको संरक्षित वनमा लागेको आगो झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसो संरक्षित वन क्षेत्रको पूर्व–उत्तर कुनामा लागेको आगो वन कर्मचारी, शसस्त्र प्रहरी र जनपद प्रहरीले बरुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा आएको हो ।
आगलगीका कारण करिब तीन हेक्टर वन क्षेत्रमा क्षति भएको छ । आगलगी हुनको मुख्य कारण खुल्न नसकेपनि धनुषाधाम नगरपालिकाले संकलन गरेर वन क्षेत्रमा फालिएको फोहरबाट आगो फैलिएको बताइएको छ ।
डिभिजन वन कार्यालय धनुषाका निमित डिभिजनल प्रमुख सुरेश शर्माले संरक्षित वनमा लागेको आगो वनकर्मचारी, सुरक्षाकर्मी र बरुणयन्त्रको सहयोगमा निभाउन सफल भएको बताए । दिउँसो २ बजे लागेको साँझ ५ बजेतिर नियन्त्रणमा आएको उनले जनाए ।
संरक्षित वनमा लागेको आगो पहिला वनकर्मचारीले नै निभाउने प्रयाय गरेको बताउँदै डिभिजनल प्रमुख शर्माले आगलगी नियन्त्रण नभएपछि आफूलाई जानकारी गराएको बताए । आफूलाई जानकारी प्राप्त भए लगतै सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाबाट गरी दुइवटा बरुणयन्त्र र स्थानीय सुरक्षाकर्मीलाई मगाएको उनले भने ।
डिभिजनल प्रमुख शर्माका अनुसार वन क्षेत्रमा धनुषाधाम नगरपालिकाले फालिएको फोहरबाट आगलगी भएको प्रारम्भिक अनुमान गरिएको छ । फोहर फालिएकै स्थानबाट आगो फैलिएको देखिन्छ । आगलगीबाट झण्डै तीन हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । समयमै आगलगी नियन्त्रण गर्न सफल भएकाले ठूलो संख्यामा जैविक विविधता नोक्सान हुनबाट जोगिएको छ, उनले भने ।
संरक्षित वन क्षेत्रमा सालको रुखलगायत विभिन्न प्रजातिका रुखबिरुवा, चराचुरुङ्गी र जीवजन्तु रहेको छ ।