
जनकपुर,
राष्ट्रियसभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएपछि नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसको प्रयासमा नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट पारिएको भएको बताएको छ ।
नागरिकता बिहिन जनताको समस्या बुझेर गम्भीर बनेका नेपाली कांग्रेसका शीर्ष नेताहरुको पहल र दिनरातको मिहिनेतका बाबजुद आज राष्ट्रियसभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको उनले भने ।
नागरिकता बिहिन नेपाली नागरिकले नेपाली नागरिकता पाउन केही दुरी मात्र रहेको भन्दै नेपाली आमाबाबूका सन्तान नेपालमै गैर नागरिक भएर बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने सुनाए ।
काठमाडौंस्थित निवासमा भेटिएका सहमहामन्त्री यादवले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै भने, नेपाली कांग्रेसको प्रयासमा यो सम्भव भएको हो । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरिरहका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलगायत पार्टीबाट सरकारमा सामेत शीर्ष नेताहरुको प्रयासमा आज राष्ट्रियसभाबाट पनि नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित भएको दावी गरे ।
नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट पारितभएपछि यसको जस लिने झिनामसिना पार्टी तछाडमछाड गरिरहेको प्रति उनले व्यङ्ग गर्दै भने, लोसपाका नेताले आधा घण्टा प्रधानमन्त्री देउवालाई भेट्दैमा नागरिकता ऐन शंसोधन हुन्छ । उ पनि त कहिले सरकारमा थियो । नागरिकता बिहिनहरुले त्यत्रो आन्दोलन गर्दा चुइक बोलेन । अहिले मैले गरेर नागरिकता ऐन संशोधन भएको भन्दै ब्यानर राखेर मैनवती बाल्दै हिड्को छ । यिनीहरुलाई लाज लाग्नुपर्ने हो, सहमहामन्त्री यादवले भने ।
सहमहामन्त्री यादवले पार्टीले गरेका राम्रा–राम्रा कामको चर्चा गर्न पार्टीका कार्यकर्ता पनि कन्जुस्याइँ गरिरहेको धारणा व्यक्त गरे । वषौंदेखि रोकिएको नागरिकता समस्या नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले समाधान गरेको बताउँदै उनले नेपाली कांग्रेसले देश र जनताका लागि गरेको कामको बारे जनतालाई जानकारी गराउन नेपाली कांग्रेसका नेताहरु खट्नुपर्ने जानकारी दिए ।
यसैगरी, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले कांग्रेस नेतृत्वको सरकारले नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको हुँदा बिहिबार साँझ दीप प्रज्वलन गरी खुशीयाली मनाउन आह्वान गरेको छ । नागरिकता बिहिन जनताको मर्का बुझेर कांग्रेस नेतृत्वको सरकारले विशेष भुमिका खेलेको जानकारी दिए ।
बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको छ । राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरुको प्रश्नको जवाफ दिनुभएको थियो । त्यसपछि बैठकले ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते प्रतिनिधिसभाले यो विधेयक पारित गरेको थियो ।
यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउने छ र प्रतिनिधिसभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक कार्यान्वयनमा आउनेछ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।