आसमानको निक शिक्षा दिअ परियोजनाले गणेशमानमा ल्याएको बदलाव, विद्यालय बाहिर रहेका साढे ९८ प्रतिशत बालबालिका विद्यालयमा टिकायौं : संयोजक पासवान (अन्तर्वार्ता)

|

विजय साह

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा विद्यालय उमेर समूहका सबै बालबालिकाहरुको दिवा समय विद्यालयमा नै व्यतित हुन थालेको छ । विद्यालयहरु बाहिर रहेका नगरभित्रका ९८.४५ प्रतिशत बालबालिकाहरु दिवाको समय विद्यालयमा बस्न र पढ्न थालेका छन् । हाल पालिकामा ३१ जना विद्यालय उमेर समूहका बालबालिकाहरु मात्र विद्यालय पहुँच बाहिर छन् । विद्यालय बाहिर रहेका ३१ जना बालबालिकाहरुलाई पनि विद्यालयमा ल्याउने प्रयास आसमान नेपालको निक शिक्षा दिअ परियोजनाले गरिरहेको जनाएको छ । विद्यालय बाहिर रहेको बालबालिकाहरुलाई विद्यालयमा ल्याउन, टिकाउने र सिकाउने मुल उद्देश्यका साथ निक शिक्षा दिअ परियोजना मार्फत गणेशमान चारनाथ नगरपालिकामा कार्य गर्दै आएको आसमान नेपालको परियोजनाका पालिकाको परियोजना संयोजक नरेन्द्र पासवानसँग हामीले कुराकानी गरेका छौं । परियोजनाको पालिका संयोजक पासवनासँग निक शिक्षा दिअ परियोजनाकै सरेरोफरो रहेर हामीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गर्दैछौं :

नरेन्द्र जी सञ्चै हुनुहुन्छ, अनि आजभोली के कार्यमा व्यस्त हुनु भएछ ?
सञ्चै छु, अनि आजभोली धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालद्धारा संचालित निक शिक्षा दिअ परियोजनामा पालिका संयोजकको रुपमा कार्य गर्दै छु, अचेल परियोजनामै एकदमै व्यस्त छु ।
के हो, निक शिक्षा दिअ परियोजना ?
अँ, यो निक शिक्षा दिअ परियोजनामा खासमा विद्यालय बाहिर रहेका समुदायका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, बालबालिकाहरुलाई दिवाको समयमा विद्यालयमा टिकाउने, विद्यालय पहुँच बाहिर रहेको बालकालिकालाई विद्यालयमा ल्याउनलाई अभिभावकलाई प्रेरित गर्ने, बाल, अपांग, लैंगिकमैत्री शिक्षाको अवस्थामा सुधार ल्याउने तथा बालश्रमको अन्त्य गर्ने लक्षित कार्य हो ।
अहिले यो परियोजनाले गणेशमान चारनाथ नगरपालिकामा के–के कार्यहरु गरिरहेको छ ?
निक शिक्षा दिअ परियोजनाले गणेशमान चारनाथ नगरपालिकाको २१ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा अहिले कार्य गरिरहेको छ । खास गरी परियोजना यो नगरपालिकामा जति पनि बालबालिकाहरु विद्यालयमा आउने उमेर समूहका भएपनि विभिन्न कारणले विद्यालयमा आउन सकेका छैन, जो बालबालिका विद्यालय बाहिर छन् उनीहरुलाई विद्यालयमा ल्याउने, पढाईको समयमा कक्षा र विद्यालयमा टिकाउने, सिकाउने, विद्यालयका बाहिर रहेको बालबालिकाहरुको तथ्यांक र घरधुरी सर्वेक्षण, विद्यालय उमेरका बालबालिकाहरु घरमा छन् भन्ने त्यो घरमा क्रसको टिक मार्क लगाउने कार्य गरेका छौं । पालिकामा शिक्षामा सुधारका लागि बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री, खानेपानी, सरसफाइ र स्वच्छताको सवालमा समेत कार्यहरु गर्दै आएका छौं । शिक्षकहरुको क्षमता विकासको लागि समेत विभिन्न तालिम तथा दक्षता अभिवृद्धि हुने खालको कार्यहरु विगत तीन वर्षदेखि गरिरहेका छौं । शिक्षकको पढाउने काम मात्र होइन, सिकाउने पनि हो त्यसैले शिक्षकहरुलाई पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जोड दिने कार्य गरिरहेको छ ।
परियोजनाले विद्यालय बाहिर रहेको कति बालबालिकाको पहिचान गरेको छ र कति बालबालिका अझै विद्यालय बाहिर छन् त ?
परियोजना सुरु गर्दा हामीले २०७६ सालमा यो पालिकामा कति जना बालबालिकाहरु विद्यालय बाहिर छन् भनेर सर्भे गरेका थियौं । जसमा २००२ जना बालबालिकाहरु विद्यालय उमेर समूहका भएपनि विद्यालय बाहिर रहेको पायौं । सर्भे पश्चात हामीले विद्यालय बाहिर रहेका सबै बालबालिकाहरु विद्यालयमा ल्याउन कार्यको थालनी गर्यौ । अहिलेसम्म परियोजना अन्तर्गत हामीले प्रायः विद्यालय उमेर समूहका १९ सय ७१ जना बालबालिकाहरुलाई विद्यालयमा ल्याउन सफल भएका छौं भने ३१ जना बालबालिकाहरु अझै विद्यालय बाहिर छन् र उनीहरु कोहि बालश्रममा छन्, कोहि बाहिर छन् भने कोही विहे गरेर गईसकेका छन् ।
कति बालबालिकालाई हालसम्म यो परियोजनाले विद्यालयमा ल्याउन र टिकाउन सफल भएको छ त ?
परियोजना अन्तर्गत हामीले यो पालिकामा सर्भे गर्दा जुन घरका बालबालिकाहरु विद्यालय बाहिर छन् त्यो घरमा रातो क्रस चिन्ह लगाउन र जुन घरका बालबालिकाहरु दिवा समय विद्यालयमा छन् भन्ने त्यो घरमा हरियो टिकमार्क चिन्ह लगाउने कार्य केही दिन अगाडी गरेका थियौं । यसरी सर्वे गर्दा गणेशमान चारनाथ नगरपालिकामा ५३ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको पायौं । र हामीले अभिभावकसँगको समन्वयमा फेरी ५३ जनामध्ये २२ जना बालबालिकालाई पछिल्लो समय विद्यालयमा ल्याउन, टिकाउन र सिकाउन सफल भएका छौं भने अझै ३१ जना बाहिर नै छन् । उनीहरुलाई पनि हामीले विभिन्न नेटकर्व, समूहहरु मार्फत खोजी गर्दै छौं । तर उनीहरुलाई खोजेर ल्याउनु भएको यो एकदमै चुनौतीपूर्ण छ, किनकी ती बालबालिकाहरु कोही बालश्रममा छन् भने कोहि बाहिर छन् र कोही त विहे गरेर गईसकेका छन् ।
मदरसामा पनि निक शिक्षा दिअ परियोजना चलाउँदै हुनुहुन्छ, मदरसामा चाही कसरी चलाउनु भएछ ?
हो, मदरसामा पनि सामुदायिक विद्यालय जस्तै मदरसा बाहिर रहेका मुस्लिम समुदायका बालबालिकाहरुलाई ल्याउने र टिकाउने कार्यमा लागेका छौं । मुदरसामा पनि त्यस्तै पढाई हुन्छ, खाली त्यसमा पालिकाको पाठ्यक्रम अनुसार एउटा ऐच्छिक विषय हुन्छ स्थानीय भाषाको र त्यसमा उर्दु थपिएको छ र पढाइ हुन्छ । अहिले मदरसा पनि थपिएको छ । दर्ता भएको दुई वटा मदरसा पहिला मात्रै थियो भने अहिले ८ वटा भएको छ र त्यसमा पनि हामी परियोजना मार्फत कार्य गर्दै आएका छौं । त्यहाँ पनि नेपाल सरकारले तोकेको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नियमित पढाई हुन्छ, स्टाप मिटिंग हुन्छ, र एउटा स्थानीय मातृभाषाको ऐच्चिछक विषय पढाई हुन्छ । सामुदायिक विद्यालयमा मैथिली हुन्छ भने मदरसामा उर्दु हुन्छ ।
अधिकांश सामुदायिक विद्यालयहरुमा भौतिक अवस्था, खानेपानी, सरसफाइ र स्वच्छताको अभाव छ, यस्तो परिस्थितिमा परियोजनाको उद्देश्य पुरा हुन्छ त ?
हुन्छ, हामीले परियोजना सुरु गर्दा विद्यालयहरुको अवस्था संतोषजनक थिएन् । तर अहिले गएर हेर्नुस् गणेशमान चारनाथ नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा धेरै परिवर्तन भएको छ । विद्यालयको भौतिक अवस्थादेखि लिएर खेलकुदको अवस्था, खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थामा पनि व्यापक सुधार भएको छ, कमी छैन् । बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री भौतिक संरचना, धारा, शौचालय लगायतको व्यवस्थापन गर्ने कार्य पनि भएको छ । ० देखि ५ कक्षासम्म पढाउने प्रायः हरेक विद्यालयको हरेक शिक्षकलाई कुनै न कुनै तालिममा सहभागी गराएका छौं । सबै शिक्षकहरुले तालिम पढाउने मात्र हैन सिकाउने तालिम पनि लिनुभएको छ । ८ वटा विद्यालय त नमुनाकै रुपमा देख्न सक्नुहुन्छ । मलाई लाग्छ, यो पालिकामा परियोजना सुरुभएता अब कुनै पनि विद्यालयमा कक्षा कोठा, भवन, खेलकुदको सुविधा, शौचालय, खानेपानी र सरसफाइको छिटफुट बाहेक कुनै कमी छैन् । परियोजनाको उद्देश्य पुरा भएको छ र अझै भई नै रहेको हामीले पाएका छौं । यसको लागि धेरै टाढा जानु नै पर्दैन् तीन वर्ष अघि र वर्तमानको अवस्थाको तुलना गर्दा आफै छर्लंंग हुन्छ ।
बालश्रममा आसमान नेपाल गम्भीर छ, बालबालिकाहरुलाई बालश्रममा लगाउनु हुन्न भनेर वकालत गर्दै आएको छ तर केही विद्यालयहरुमा बालश्रम रोकिएको छैन, यसको लागि के–के गर्नुभएछ ?
हो, यसमा दुई वटा कुरा आउँछ, एउटा बालश्रम र अर्को बालकाम । आसमान नेपालको नीतिमै छ बालश्रम गर्न गराउनु हुँदैन् भनेमा जोड दिन्छौं । त्यसमा पनि विद्यालय शिक्षा आर्जन गर्ने, सिक्ने सिकाउने थलो हो नि, त्यहाँ त कुनै पनि हालतमा बालश्रम गराउनु भएन् । अब कहिँ कतै अपवादमा छ, भने कतिको व्यवहारिक छ अथवा अव्यवहारिक छ, त्यो हेर्नु पर्छ । कतै हाम्रो दैनिक दिनचर्यासँग जोडिएको छ कि, कतै हाम्रो संस्कारसँग जोडिएको छ, आफ्नै या घरपरिवारको लागि गरिरहेको छ कि त्यो सबै कोणबाट हेर्नुपर्छ । तर कसैले जानी जानी कुनै बालबालिकालाई स्कुलमा सम्बन्धित कर्मचारी हुँदाहुँदै काममा लगायो भने त्यो पक्कै पनि बालश्रम हो, त्यो चाही गर्नुहुन्न । बालबालिकालाई कुनै पनि बहानामा काममा लगाउन पाईदैन् हामी यसमा पनि प्राथमिकताका साथ जोड दिएका छौं । तर जीवन उपयोगी शिक्षा र सिकाइमा अभ्यासका लागि आवश्यकता अनुसार कतै बालबालिकाहरु लागेका छन् भने त्यो एउटा सिकाइको अवस्था वा चरण नै हो बालश्रम होइन, त्यो बाल काम हो भन्ने हामीले बुझ्नु पर्ने हुन्छ । हामी बालबलिकाहरुको संवेगात्मक विकास, शारीरिक विकास, शैक्षिक विकास वा चौतर्फी विकाससँग जोडिएको कुराहरुलाई बालकाम भन्छौं त्यसमा हामी रोक्दैनौं । तर कतै कक्षा चलेको समयमा शिक्षकले कुनै बच्चालाई पानी ल्याउन पठायो, विद्यालयको समयमा पढाईको काम छोडाएर कुनै अर्को कार्यमा लगाएर उसको भविष्य विगार्ने कार्य भयो भन्ने त्यो बालश्रम हो त्यो हामी रोक्छौं, त्यो गर्न दिनौं ।
परियोजनाको अगामी योजनाहरु के छन् ? अगामी दिनमा यसको निरन्तरता कतिको रहन्छ ?
हो, हामी निक शिक्षा दिअ परियोजना मार्फत बालबालिकाहरुलाई विद्यालयमा ल्याउने, टिकाउने कुरामा बढी जोड दिएका छौं । जो बालबालिकाहरु विद्यालय पहुँच बाहिर छन्, विद्यालयको उमेर भएर पनि जो विद्यालयमा आउँदैनन्, ती बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने दिवा समय विद्यालयमा टिकाउने, बसाउने, पढाउने, सिकाउने कार्यमा बढी जोड दिएका छौं । अब हामीले विद्यालय बाहिर रहेका पालिकाभित्रका अधिकांश ल्याउनुपर्ने बालबालिकाहरुलाई विद्यालयमा ल्याईसकेका छौं । अब बालबालिकाहरुलाई अगामी दिनमा विद्यालयमा टिकाउने हिसावले बढी कार्यहरु गर्नुपर्ने हुन्छ र त्यसै योजनाका साथ हामी अघि बढि रहेका छौं । जो विद्यालयमा अगाडी बढी सकेको छ, त्यसमा भन्दा पनि केही पछि परेका विद्यालयहरुमा अगामी दिनमा अलि बढी फोकस गर्नुपर्ने हुन्छ । यो हालको परियोजना अन्तिम फेजमा छ, तर यसको निरन्तरताको लागि हाम्रो प्रयास जारी रहन्छ ।