
विजयकुमार साह
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा लालपुर्जा वितरण गर्नका लागि जग्गा नापी कार्य सुरु गरेको छ । घर बसोबास तथा भोगचलन गर्न थालेको ६० वर्षपछि बाहुनमारावासीलाई लालपुर्जा वितरण गर्न भूमि आयोग जिल्ला समिति धनुषाले सोमबारबाट जग्गा नापी कार्य सुरु गरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सो जग्गा नापी कार्यको शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले वर्षौंदेखि भोगचलन गर्दै आएको भएपनि भूमिको मालिक बन्न नसकेका सबैले छिट्टै लालपुर्जा पाउने बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले भूमिहिन, सुकुम्वासी सबैलाई जग्गाको मालिक बनाउँछ । अरुले कुरा मात्रै गर्छ । तपाईँहरुलाई लालपुर्जा कांग्रेसले नै दिन्छ । अरु पार्टीले तपाईँको भोट लिन जग्गा नापी गरिदिने भनेर झुक्याउँछन मात्रै, सहमहामन्त्री यादवले भन्नुभयो ।
भूमि आयोग जिल्ला समिति धनुषाका अध्यक्ष सुरेश कोइरालाले मिथिला नगरपालिका वडा नं. ११ को जग्गा एक महिनाभित्र नापी गरिसक्ने बताउनुभयो । नापी कार्यालय धनुषाबाट तीन जना अमिन र नगरपालिकाबाट चार जना प्राविधिक खटाइएको छ । एक–दुइ दिनमै थप छ जना प्राविधिक खट्ने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष कोइरालाले समयमै जग्गा नापी कार्य सम्पन्न गर्न जग्गा नापी कार्यमा खटिएका प्राविधिक टोलीलाई सहयोग गरिदिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा उपस्थित मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले जनतालाई जमिनको मालिक बनाउने लक्ष्यकासाथ नगरपालिका अघि बढिरहेको बताउनुभयो । उहाँले जग्गा नाप जाँचपछि लालपुर्जा वितरण गरिने जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट