विजयकुमार साह
धनुषाको ढल्केवरमा एक यस्तो नापी कार्यालय छ जहाँ कर्मचारी त छन् तर काम छैन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग छेउमै २० वटा कोठा भएको चिटिक्क परेको दुई तल्ले भवन सरकारले भाडामा लिएर राखिएको नापी कार्यालय अन्य कार्यालयझैं प्रत्येक दिन समयमै खुल्छ । कर्मचारी पनि समयमै हाजिरीका लागि कार्यालय आइपुग्नुहुन्छ । तर, उहाँहरु काम बिना नै दिनभर कार्यालयमा बस्नुहुन्छ ।
१० बजे नै कार्यालयमा उपस्थित भएका कर्मचारी हाजिरी रजिष्टरमा सहिछाप गरेर दिनभर गफिएर समय बिताउनुहुन्छ । सरकारकै निर्णय कार्यान्वयनमा नआउँदा स्थापनाकाल देखि नै सुनसान छ, यहाँको यो नापी कार्यालय ।
नापी कार्यालय जनकपुरधाम धनुषाले आवश्यक कागजात तथा सामाग्री बरबुझारथ नगर्दा नापी कार्यालय ढल्केवरका १५ जना कर्मचारी लगभग छ बर्षदेखि कामविहिन बन्नुभएको छ ।
२०७२ असोज १४ मा मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केवरमा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७३ माघमा ढल्केवरमा नापी कार्यालय स्थापना गरियो । तर, स्थापनाको पाँच बर्ष छ महिना बितिसक्दा पनि कामकाज सुरु हुनसकेको छैन ।
नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले स्थापना भएको नापी कार्यालय सञ्चालनमा नआउँदा सरकारको बार्षिक लाखौं रकमको सदुपयोग हुन नसकेको नापी कार्यालय ढल्केवरका प्रमुख अधिकृत राजेन्द्र साहले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘कार्यालय सञ्चालनमा नआउँदा १५ जना कर्मचारी हाजिरी गरेर दिन बिताउन बाध्य छन्।
सेवा क्षेत्र तोकिएका ठाउँको अभिलेख तथा आवश्यक कागजात बरबुझारथ गर्न नापी कार्यालय धनुषालाई पटक–पटक ताकेता गर्दा पनि सुनवाइ नभएको कार्यालय प्रमुख साहको भनाई छ ।
‘कागजातका लागि जनकपुर कार्यालयलाई हामीले पटक–पटक ताकेता गर्यौं’, नापी अधिकृत साहले भन्नुभयोे, ‘तर त्यसको कुनै जवाफ आएको छैन । कुनै सुनवाई भएको छैन । अभिलेख तथा आवश्यक कागजात दिन नापी कार्यालय धनुषालेले आनाकानी गरिरहेको छ ।
साविकको २१ वटा गाविस अर्थात हाल ५ वटा पालिका क्षेत्रलाई सेवा दिने उद्देश्यसाथ यस कार्यालयको स्थापना भएको थियो । तर, यस क्षेत्रका सेवाग्रहीले सेवा पाउन नसक्दा हालको मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका स्थानीय निरास छन् ।
कार्यालयमा नापी अधिकृतको नेतृत्वमा सर्भेक्षक ५ जना, अमिन १ जना, सह–लेखापाल १ जना, कम्प्यूटर अपरेटर १ जना, कार्यालय सहयोगी ५ जना, स्वीपर १ जना गरी कूल १५ कर्मचारी कार्यरत हुनुहुन्छ । सबै कर्मचारीको तलबमा प्रतिमहिना ३ लाख २५ हजार ४ सय रुपैयाँ खर्च हुने गरेको छ । यसरी बर्षमा कर्मचारीको तलबबाट मात्र ३९ लाख ४ हजार ८ सय रुपैयाँ खर्च भइरहेको देखिन्छ । कार्यालयको भाडा बापत मात्र प्रतिमहिना ३८ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । घरभाडामै बर्षमा ४ लाख ६२ हजार रुपैयाँ खर्च भइरहेको छ ।
नापी कार्यालय जनकपुरको लापरवाहीका कारण सरकारी स्रोतसाधनको दुरुपयोग भइरहेको मिथिला उद्योग बाणिज्य संघका अध्यक्ष तेजनारायण साह बताउनुहुन्छ । ‘सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन सरकारकै कर्मचारीले बखेडा गर्नुको कुनै राम्रो होइन् उहाँले भन्नुभयो ।
सरकारले गरेको निर्णय यथाशीघ्र कार्यान्वयनमा नल्याए आफूहरु कडा रुपमा प्रस्तुत हुने संघका अध्यक्ष साहले प्रतिक्रिया दिनुभयो । ‘नागरिकलाई सहज रुपमा सेवा दिन स्थापना भएको कार्यालय सञ्चालनमा कुनै किसिमको बहानाबाजी चल्दैन । यथास्थितिमै सञ्चालमा ल्याउनुपर्छ’, उहाँको भनाई छ ।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले नापी कार्यालयको कागजातको लागि कयौं पटक पहल गरे पनि मालपोतकै बहानामा नापीको अभिलेख तथा कागजात उपलब्ध गराउन जनकपुर कार्यालयले आनाकानी गरिरहेको बताउनुभयो । ‘मैले ढल्केवर कार्यालयलाई अभिलेख उपलब्ध गराईदिन विभागका ‘डिजी’देखि सम्बन्धित मन्त्रायलका मन्त्रीसम्मलाई आग्रह गरेको छु ।
मालपोत स्थापना नभए नापी कार्यालय फिर्ता जान्छ भन्ने प्रश्नमा मेयर महतोले भन्नुभयोे, ‘स्थापना गर्ने निर्णय सङ्घीय सरकारको हो, सरकारले निर्णय गरे मात्र कार्यालय फिर्ता जान्छ।’ नापी र मालपोत दुवैको लागि अझै पहल भइरहेको उहाँले बताउनुभयो ।
नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्राले ढल्केवरमा मालपोत स्थापना नभएकै कारण नापी कार्यालको कामकाज सुरु हुन नसकेको प्रतिक्रिया दिनुभयो । मालपोत बिना नापी कार्यालय सञ्चालनमा आए सेवाग्राहीका लागि झन्झटिलो हुने उहाँको जिकिर छ । ‘नापी कार्यालय मात्रै सञ्चालनमा आएर सेवाग्राहीले सहज रुपमा सेवा पाउँदैनन्, झन् समस्या बढ्छ’, प्रमुख मिश्राले भन्नुभयो ।
ढल्केवर कार्यालयलाई कार्यक्षेत्र तोकिएको स्थानीय तहहरुको समन्वयमा अभिलेख तथा कागजात लान सकिने उहाँले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट