धनुषा ट्राफिक प्रहरीद्वारा एक वर्षमा एक करोड सन्तानब्बे लाखभन्दा बढी राजस्व संकलन

|

फाइल तस्बिर

विजय साह
ढल्केवर, धनुषा

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ९७ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने २४ हजार ७८८ सवारी साधनमाथि कारवाही गरी त्यतिको राजस्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको तथ्याङ्कअनुसार सबभन्दा बढी ट्रक कारवाहीबाट ८९ लाख ८३ हजार राजस्व संकलन भएको । सो अवधिमा आठ हजार १६९ ट्रक कारवाहीमा परेको छ । यस्तै, आठ हजार ७६७ वटा मोटरसाइकलबाट ५८ लाख १९ हजार, ४६८ वटा बसबाट ३४ लाख ८५ हजार, पाँच हजार ५३४ वटा जीपबाट ३५ लाख ३७ हजार ५००, एक हजार ३७९ वटा ट्याक्टरबाट ८ लाख २५ हजार र टेम्पोलगायत ४७१ वटा अन्य सवारीबाट दुइ लाख ६५ हजार ५०० राजस्व संकलन भएको छ ।

पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षकोे तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए ।

जिल्लाको विभिन्न सडक खण्डमा भएको ९७४ सवारी दुर्घटनामा परी १०५ ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापरबाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढेको प्रहरी निरीक्षक यादवको जनाए ।