विधि र प्रक्रियाको सम्मान गर्नआन्दोलनरत शिक्षकलाई मेयर क्षेत्रीको आग्रह

|

बर्दिबास, महोत्तरी

महोत्तरी बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले आन्दोलनरत शिक्षकहरुलाई विधि र प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकले करार अवधि थप गर्न दबाब सिर्जना गर्ने उद्देश्यले आन्दोलनरत रहेका शिक्षकलाई नीति नियमको सम्मान गर्न उनले आग्रह गरेको हो ।

नगरपालिका क्षेत्रभित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षकको करार अवधि थप गर्ने कुनै कानुनी आधार नरहेको हुनाले स्वतः पदमुक्त भएका शिक्षकलाई पुनः व्यवस्थापन गर्न विधि र प्रक्रियागत ढंगबाट शिक्षक भर्ना सम्बन्धी सूचना आह्वान गरिएको छ । सूचना आह्वान गरिएअनुसार भर्ना प्रक्रिया आउन आन्दोलनरत शिक्षकलाई भनिएको मेयर क्षेत्रीले भने ।

करारका शिक्षकहरुकै कमी कमजोरीका कारण म्याद थप नभएको भन्दै उनले कुनै पनि शिक्षकले म्याद थपको निवेदन नदिएको बताए । विधिवत् रुपमा निवदेन पनि दिएको भए कानुनी माध्यमबाट ति शिक्षकहरुको म्याद थप गर्ने हाम्रो सोच थियो । कार्यपालिकाले पनि ति शिक्षकहरुको म्याद थप गर्ने वा नगर्ने बारे कुनै निर्णय गरेन । कार्यपालिकासमेतले म्याद थपबारे कुनै निर्णय दिन नसकेपछि शिक्षा शाखाले म्याद थपको कुनै कानुनी आधार नदेखेपछि ति शिक्षकहरुको हाजिर नगराउन चिठ्ठी लेखेको हो, मेयर क्षेत्रीले जानकारी दिए ।

करार अवधि सकिएपछि नगर शिक्षकले करार म्याद थप गर्न आफैं बेवास्ता गरेको हुनाले कानुनअनुसार करार नवीकरण नभएकोले आन्दोलनको कार्यक्रम स्थगित गरी भर्ना प्रक्रियामा आउने उनले पुनः आग्रह गरे ।

यता म्याद थपको माग गर्दै करारका शिक्षकहरु सोमबारदेखि आन्दोलित भएका छन् । बर्दिवास नगरपालिकाले नगरको करार शिक्षकको करार अवधि थप नगरको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनको पहिलो दिन सोमवार शिक्षकहरुले बर्दिवास नगरपालिकाको मुलगेट अगाडी ३ घण्टा धर्ना दिएका थिए । उनीहरुले आईतवार मेयर प्रह्लाद कुमार क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै साउन २९ गतेसम्मको चरणबद्ध संघर्षका कार्यक्रम गर्ने सार्वजानिक गरेका छन् ।

पूर्वमेयर विदुरकुमार कार्कीले गत वर्ष खुल्ला प्रतिस्पर्धा मार्फत प्राथमिक तहदेखि माध्यमिक तहसम्मका ६२ जना करारका शिक्षक भर्ना गरेका थिए । तर, साउन २० गते नगरपालिकाका शिक्षा अधिकृत गणेश प्रसाद दाहालले एक सूचना जारी गरि कारारका नगर शिक्षकलाई हाजिर नगराउन र कामकाज नलगाउन विद्यालयहरुलाई निर्देशन दिएपछि शिक्षकहरुले आन्दोलन चर्काएको हो ।