उनन्चास हजार जडिबुटीका बिरुवा निःशुल्क वितरण

|

विजयकुमार साह
ढल्केवर, धनुषा

धनुषाको धनुषाधामस्थित रहेको वनस्पति उद्यान कार्यालयले औषधीजन्य वनस्पतिका ४९ हजार बिरुवा निःशुल्क वितरण गरेको छ । वनस्पति उद्यान कार्यालयले कुरिलो, अमला, लेमनग्रास र मुङगा गरी ४९ हजार औषधीजन्य वनस्पतिका विरुवा निःशुल्क विरण गरेको हो ।

वनस्पति उद्यान कार्यालयका प्रमुख ताहिर हुसेनले किसानको आयआर्जनमा वृद्धि ल्याउन र औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थको परिपुर्ति गर्न औषधीजन्य वनस्पतिका बिरुवा वितरण गरिएको बताउनुभयो । २०७९ असार महिनादेखि हालसम्म १२ हजार कुरिलो, १० हजार अमला, १० हजार लेमनग्रास र १७ हजार मुङ्गाका बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यहाँबाट सिरहा, सप्तरी, महोत्तरी र सर्लाहीसम्मका किसानले जडिबुटीका बिरुवा लैजान गरेको बताउँदै कार्यालय प्रमुख हुसेनले २० वटासम्म बिरुवा लैजान कुनै कागजात नचाहिने तर त्यसभन्दा बढीको सङ्ख्यामा लैजानका लागि व्यक्तिको जग्गाको लालपुर्जाको प्रतिलिपि र निवेदन पेश गर्नुपर्ने बताउनुभयो ।

मधेश प्रदेश जडिबुटी उत्पादनका लागि प्रचुर सम्भावना भएको ठाउँ हो । यहाँका किसानलाई जडिबुटी खेतीप्रति प्रोत्साहन गर्न सकियो भने किसानको आम्दानी पनि बढ्ने र औषधी उत्पादनका लागि चाहिने कच्चा पदार्थ देश बाहिर निर्यातसमेत गर्न सकिने उहाँले भन्नुभयो ।
यसका लागि ठाउँ–ठाउँमा सरकारी स्तरबाट जडिबुटी प्रशोधन केन्द्रको स्थापना हुनु जरुरी देखिएको कार्यालय प्रमुख ताहिरको भनाई छ । गोरखापत्र दैनिकबाट