ढल्केवर, धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपाल नामक गैर सरकारी संस्थाले दुईवर्ष अघि विद्यालय उमेर समुहका बालबालिकाको विषयमा एउटा सर्भे गरेको थियो । आसमान नेपालले निक शिक्षा दिअ परियोजना लागु गर्न त्यतिबेला गरेको उक्त सर्भेमा विद्यालय उमेर समुहका २ हजार २ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको पाइएको थियो ।
तर, परियोजना लागु भएपछि अहिले भने त्यो तथ्याङ्क फेरिएको छ । पछिल्लो सर्भे अनुसार गणेशमान चारनाथ नगरपालिकामा ३१ जना बालबालिकाहरु मात्रै विद्यालय बाहिर रहेको पालिकाका परियोजना संयोजक नरेन्द्र पासवान बताउँछन् ।
उनीहरुलाई खोजेर ल्याउन निकै चुनौतीपूर्ण रहेको उनी सुनाउँछन् । ‘विद्यालय बाहिर रहेका ती बालबालिकाहरुमा कतिपय बालश्रममा छन् भने कोहि बाहिर,’ संयोजक पासवान भन्छन् ‘कतिपय त विहे गरेर नै गईसकेका छन् । तिनीहरुको विभिन्न नेटवर्क र सञ्जाल समुहहरु मर्फत खोजी गर्दैछौं ।’ उनीहरुको पनि खोजी कार्य गरेर विद्यालय ल्याउने प्रयास भईरहेको उनको भनाई छ ।
परियोजना लागू भएयता नगरपालिकामा विद्यालय उमेर समुहका १ हजार ९७१ जना बालबालिकालाई विद्यालयमा ल्याउन सफल भएको परियोजना संयोजक पासवानको दावी छ ।
पालिकामा शिक्षामा सुधारका लागि आसमान नेपालले बालमैत्री, अपांगमैत्री, लैंगिकमैत्री, खानेपानी, सरसफाइ र स्वच्छताको सवालमा कार्यहरु गर्दै आएको छ । शिक्षकहरुको क्षमता विकासको लागि समेत निक शिक्षा दिअ परियोजना मार्फत विभिन्न तालिम तथा दक्षता अभिवृद्धि हुने खालको कार्यहरु समेत विगत तीन वर्षदेखि गरिरहेको छ ।
आसमान नेपालले उक्त परियोजना मार्फत गणेशमान चारनाथ नगरपालिकाको २१ वटा सामुदायिक विद्यालय र २ वटा मदरसामा शैक्षिक सुधारका लागि काम गर्दै आएको छ । ‘हामीले परियोजना सुरु गर्दा विद्यालयहरुको अवस्था संतोषजनक थिएन् । तर, अहिले गएर हेर्नुस् गणेशमान चारनाथ नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा धेरै परिवर्तन भएको छ,’ परियोजना संयोजक पासवान भन्छन् ‘विद्यालयको भौतिक अवस्थादेखि लिएर खेलकुदको अवस्था, खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थामा पनि व्यापक सुधार भएको छ ।’
यस परियोजनाले विद्यालयसँगै शिक्षकको दक्षता समेत अभिवृद्धि भएको उनको बुझाई छ । ‘शिशु कक्षादेखि ५ कक्षासम्म पढाउने प्रायः हरेक विद्यालयको हरेक शिक्षकलाई कुनै न कुनै तालिममा हामीले सहभागी गराएका छौं । सबै शिक्षकहरुले तालिम पढाउने मात्र हैन सिकाउने तालिम पनि लिनुभएको छ । ८ वटा विद्यालय त नमुनाकै रुपमा देख्न सक्नुहुन्छ,’ संयोजक पासवानले भने ।
अगामी दिनमा बालबालिकाहरुलाई विद्यालयमा टिकाउने योजनाकासाथ आफुहरु अघि बढि रहेको उनले बताए । ‘बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउने दिवा समय विद्यालयमा टिकाउने, बसाउने, पढाउने, सिकाउने कार्यमा बढी जोड दिएका छौं,’ संयोजक पासवानले भने ‘जो विद्यालयमा अगाडी बढी सकेको छ, त्यसमा भन्दा पनि केही पछि परेका विद्यालयहरुमा अगामी दिनमा अलि बढी फोकस गर्नुपर्ने हुन्छ ।’