ढल्केवर, धनुषा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनीमा राखिएको छ । सेन्टर फर मिडिया रिसर्चको सहयोग तथा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा जनकपुरधामस्थित बार एशोसियनको सभाकक्षमा दुई दिने भ्रष्टाचारविरुद्ध कार्टुन चित्र प्रदर्शनीमा राखिएको हो ।
कार्टुन प्रदर्शनीको उद्घाटन मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले गरे । उद्घाटन गर्नुअघि उनले प्रदर्शनीमा राखिएका चित्रहरुको अवलोकन गर्नुभएको थियो ।
४१ जना उत्कृष्ट कार्टुनिस्टका ५१ वटा कार्टुन चित्र प्रदर्शनीमा राखिएको आयोजक समितिका संयोजक केशवराज खनालले बताउनुभयो । शनिबार सुरु भएको पदर्शनी आइतबार दिउँसो २ बजेसम्म चल्ने छ ।
गोरखापत्र संस्थानका प्रमुख कार्टुनिस्टसमेत रहनुभएका खनालले भ्रष्टाचारविरुद्ध खुलारुपमा बहस चलाउन र भ्रष्टाचारलाई जरैबाट निम्ट्यान पार्नुपर्छ भन्ने उद्देश्यका साथ कार्टुन चित्र प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।
हजारौं शब्दले ब्याख्या गर्न नसक्ने विषयलाई एउटा चित्रले व्यक्त गर्नसक्ने बताउनुहँदै कार्टुनिस्ट खनालले प्रदर्शनी हेर्न नछुटाउन सबैलाई आग्रह गर्नुभयो । उहाँले देशको सातवटै प्रदेशको मुख्य शहरमा प्रदर्शनी आयोजना गर्ने कार्यक्रमअन्तर्गत शनिबार जनकपुरमा कार्टुन चित्र प्रदर्शन गरिएको र यसपछि प्रदेश नं. १ को इटहरीमा प्रदर्शन गरिने जानकारी दिनुभयो ।