नागरिकता विधेयक फिर्ता पठाइएको बिरोधमा चक्काजाम

|

ढल्केवर, धनुषा

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा चक्काजाम गरेको छ । नेपाली कांगे्रेसका कार्यकर्ताले राजमार्गमा करिब आधा घण्टा चक्काजाम गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोको नेतृत्वमा चक्काजाममा उत्रेका कार्यकर्ताले ‘नागरिकता विधेयक छिटो प्रमाणीकरण गर, संविधानका धारा लागू गर’ जस्ता नारा लगाउँदै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै चर्को नाराबाजीसमेत गरे । चक्काजाम तथा विरोध प्रदर्शनमा नागरिकताविहिन युवाहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नागरिकता पाउन र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहितको नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

प्रमाणीकरणका लागि साउन १५ गते पठाइएको उक्त नागरिकता विधेयक राष्ट्रपति भण्डारीले १४ औं दिनपछि प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् ।

उक्त विधेयक सङ्घीय संसदले पुर्नविचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।