
विजय साह
ढल्केवर, धनुषा
धनुषाको दोस्रो ठूलो धार्मिकस्थल धनुषाधाममा निर्माण भइरहेको धार्मिक तथा सांस्कृतिक महत्व झल्किने प्रवेशद्वार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । धनुषाधाम–जनकपुरधाम सडकको धनुषाधाममा मन्दिर तथा धनुष आकारमा बन्न लागेको प्रवेशद्वारमा रङ् लगाउने कामबाहेक अन्य निर्माणको सम्पूर्ण काम सकिएको छ ।
पर्यटन विभागले तीन करोड ७२ लाख रुपियाँमा धनुषाधाममा धनुष मन्दिर, मखनबाबा मन्दिर र धनुष आकारको प्रवेशद्वार निर्माणका लागि महतो कन्ट्रक्सनलाई ठेक्का दिइएको छ । ठेक्का सम्झोताअनुसार मन्दिर निर्माणको कार्य सम्पन्न भइसकेको र प्रवेशद्वारमा रङ् लगाउन मात्र बाँकी रहेको निर्माण कम्पनी महतो कन्ट्रक्सन जनकपुरका सञ्चालक तथा इन्जिनीयर उमेश महतोले बताउनुभयो ।
उहाँले ठेक्का अवधिभित्रै निर्माणका सम्पूर्ण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।
धार्मिक पर्यटकको आकर्षणको केन्द्र धनुषाधाममा धार्मिक महत्व झल्किने संरचना निमाणले आकर्षण थपिएको स्थानीय समाजसेवी युवा दुर्योधन महताले बताउनुभयो । धनुषाधाम धनुषा जिल्लाको दोस्रो ठूलो धार्मिक स्थलको रुपमा स्थापित छ । यो स्थल धार्मिक पर्यटनका हिसाबले पनि उत्तिकै चर्चित छ । जनकपुरधामस्थित जानकीमन्दिरको दर्शन गर्न पुग्ने भक्तजन यहाँ अवश्य आउनुहुन्छ, महतोले भन्नुभयो ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले पर्यटकलाई धार्मिकस्थल प्रवेश गरेको अनुभूति दिलाउने गरी निर्माण भएको प्रवेशद्वार तथा मन्दिरले यहाँको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पालिकामार्फत पनि विभिन्न भौतिक संरचना निर्माण गरिएको बतानुहुँदै उहाँले पर्यटकलाई आकर्षक गर्ने खालका थप संरचना निर्माणका लागि पर्यटन विभागलगायत सरोकारबाल निकायलाई आग्रह गर्नुभयो ।