
ढल्केवर, धनुषा
नेकपा एकिकृत समाजवादी पार्टी धनुषा जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद शर्मासहित सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । बुधबार बिहान ढल्केवरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषण गर्दै शर्माले मिथिला नगरपालिकामा १२१ जनाको कार्यसमिति मध्ये ७३ जनाले आजकै दिनदेखि पार्टी परित्याग गरेको बताए । साथै उनले जिल्ला कार्यसमितिका २५ जना सदस्यले पार्टी परित्याग गर्ने तयारीमा जुटेको जनाए ।
नेकपा एकिकृत समाजवादीका नेतृत्वकर्ताले भागबन्डाको राजनीति गर्ने । श्रीमती र नातागोता राजनीति अवसर प्रदान गर्ने जस्ता दुःखद् अवस्था सिर्जना भएको र रुपान्तरण हुने अवस्था नदेखिएपछि सामूहिक रुपमा पार्टी परित्याग गरिएको शर्माले बताए ।
पार्टी परित्याग गरेका साथीबीच गहन छलफल गरेर एक हप्ताभित्रमा रुपान्तरणका सहयात्री बन्न सकिने पार्टीमा आवद्ध हुने उनले जनाए ।
पार्टी परित्यागपछि कुन पार्टीमा प्रवेश गर्ने स्पष्ट जानकारी शर्माले नदिएपनि नेकपा एमालेमा फर्किन सक्ने संकेत दिए ।