ढल्केवरमा सञ्चालित कुस्ती प्रतियोगिता सम्पन्न, विजेताले पाए चाँदीको तक्मा

|

ढल्केवर, धनुषा

श्री कृष्ण जन्माष्टमी मेलाको अवसरमा धनुषाको ढल्केवरमा सञ्चालित दुइ दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । श्री कृष्ण जन्माष्टमी मेला कमिटी ढल्केवरको आयोजनामा कुस्ती प्रतियोगिता सञ्चालन गरिएको थियो ।

आइतबार सम्पन्न प्रतियोगितामा असनपुर सिरहाका शिवशंकर यादव प्रथम भए । यस्तै डुमरिया धनुषाका विनय यादव द्वतीय र किरतपुर धनुषाका धर्मु यादव तृतीय स्थान हासिल गरे । विजेताहरुलाई नेपाली कांग्रेस मधेश प्रदेश सदस्य गुदर यादव र मिथिला नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नन्दकिशोर यादवले चाँदीको तक्मा प्रदान गरेका थिए ।

शनिबारदेखि सुरु भएको कुस्ती प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका पहलवानहरुको सहभागिता रहेको थियो । शनिबार मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले उक्त कुस्ती प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मधेशबाट हराउँदै गएको कुस्ती खेललाई पुनः जिवित राख्न कुस्ती प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष यादवले बताए ।