मिथिला नगरपालिकामा अनुमति बिना विद्यालय सञ्चालन, विद्यार्थीको भविष्य अन्यौलमा

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–८ जमुनिवासमा अनुमति नलिइ एक संस्थागत विद्यालय सञ्चालनमा रहेकोे छ । जमुनिवासमा ब्राइट जोन इंगलिस बोर्डिङ स्कुल अनुमति नलिइ सञ्चालनमा रहेको छ ।

गएको साउन १२ गतेदेखि सञ्चालन गरिएको ब्राइट जोन स्कुलमा कक्षा ६ सम्मको पढाइ भइरहेको छ । स्कुलमा ३० जनाभन्दा बढी विद्यार्थी भर्ना गरिएको छ ।

मिथिला नगरपालिकाकी शिक्षा शाखा प्रमुख सीता काफ्ले अवैध तरिकारले विद्यालय सञ्चालन गरिको बारे जनगुनासो बढेपछि अनुगमन गरिएको बताए । अनुगमनको क्रममा सो विद्यालय अनुमति नलिइ सञ्चालन गरिएको पाइएको उनले जनाए ।

अनुगमनकै क्रममा एक साताभित्र विद्यालय सञ्चालनसम्बन्धी अनुमति लिएर कार्यालयमा जानकारी गराउन अन्यथा विद्यालय बन्द गरिने चेताबनी विद्यालयका सञ्चालकलाई दिइएको छ । तर, चेताबनी दिइएको दुई साता बित्न लाग्दासमेत विद्यालयका सञ्चालकले कुनै प्रकारको कागजात उपलब्ध नगराएको बताउँदै अब के गर्ने भन्ने विषयमा छलफल गरिने शिक्षा शाखा प्रमुख काफ्लेले जानकारी दिए ।

दर्ता बिना सञ्चालनमा रहेको ब्राइट जोन स्कुलमा भर्ना भएका विद्यार्थीको भविष्य अन्यौलमा पर्ने स्थानीयवासीले बताए । उनीहरुले सो विद्यालय सोही वडा बस्ने जयकुमार पूर्वेको भएको जनाए । यता जयकुमारले भने आफ्नो कुनै पनि स्कुल नभएको बताउँदै ब्राइट जोन स्कुलसँग पनि कुनै सम्बन्ध नभएको बताए । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।