दलबलसहित सोमप्रसाद शर्मा एमालेमा प्रवेश

|

ढल्केवर, धनुषा

केही दिनअघि मात्र नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरेका सोमप्रसाद शर्मा दलबलसहित नेकपा एमाले प्रवेश गरेका छन् । शर्मासहित नेकपा एसबाट मिथिला नगरपालिका वडा नं. ६ का वडाध्यक्षका प्रत्यासी सर्वनाथ महतोलगायत मिथिला नगरपालिकाका ३० जना युवा एमाले प्रवेश गरेका हुन् ।

शनिबार काठमाडौंस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराएको बताइएको छ । पार्टी प्रवेश कार्यक्रमको अवसर नेकपा एमालेका केन्द्रीय सविच रघुवीर महासेठ र पोल्टिब्यूरो सदस्य जुली महतोको समेत उपस्थित रहेको थियो ।

शर्मा नेकपा एकिकृत समाजवादी पार्टी धनुषाका वरिष्ठ जिल्ला उपाध्यक्ष पदको जिम्मेवारीमा थिए । उनले भदौ १ गते धनुषाको ढल्केवरमा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एस पार्टी परित्यागको घोषणा गरेका थिए ।

झण्डै ३१ वर्ष नेकपा एमालेमा रहेर कम्युनिस्ट राजनीति गरेका शर्माले नेकपा एमालेसँग बिद्रोह गरेर माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा एस रोजेका थिए । नेकपा एसको नेतृत्व पंक्ति नातावाद र कृपावादमा लागेको र सुधार हुने अवस्था नदेखेको भन्दै आफ्ना दलबलसहित पार्टीबाट राजिनामा दिएका थिए ।