
बर्दिबास । कोरोना महामारीले आर्थिक रूपमा विश्वलाई धेरै पछाडि धकेल्यो । व्यक्तिलाई मानसिक, शारीरिक र आर्थिक रूपमा क्षति पु¥यायो । तर, कतिपय ठाउँमा कोरोनाकालमा गरेका कामहरूले समाजलाई नै सकारात्मक परिवर्तन पनि गरेको छ ।
कोरोना नियन्त्रणका लागि नेपालमा लगाइएको लकडाउनका बेला महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको मुहारै फेरियो । लकडाउनका कारण गाउँ फर्केका युवाहरूले फुर्सदको समय आफ्नो गाउँको विद्यालय सिँगार्न मेहनत लगाए ।
तीन वर्षअघि लकडाउनमा स्थानीय युवाले गरेको परिश्रमको फलस्वरूप अहिले विद्यालय प्रांगण गजब राम्रो बनेको छ । चौतारो, खेल मैदान, बगैंचा र वृक्षरोपणले ल्याएको हरियाली विद्यालयमा देख्न पाइन्छ ।
विद्यालय सिँगार्न युवाहरूले मुठ्ठी दान अभियान पनि चलाए । त्यसरी संकलन भएको रकमले विद्यालयलाई हराभरा बनाउन जनसहयोगी युवा सञ्जालको नेतृत्वमा निरन्तर युवाहरूले पसिना बगाए ।
सञ्जालका अध्यक्ष परमेश्वर महतोले कोरोना महामारीले निम्त्याएको संकटकै बीच उक्त विद्यालय समुदायको सहयोगमा समुदायकै युवाले रूपान्तरण गरेको बताए । यो अभियानमा स्थानीय पत्रकार अमृत कुमार महतो, नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले निकै सक्रियता देखिएका थिए ।
‘शिक्षा समाज रूपान्तरणको शक्तिशाली हतियार हो भने विद्यालय असल नागरिक उत्पादन गर्ने कारखाना’, पत्रकार राजकण महतो भन्छन्, ‘जहाँ हाम्रो बाल्यकाल बितेको थियो, अहिले कलिला नानीहरूको दैनिकी बितिरहेको छ । आजको स्कूल कस्तो छ भन्ने कुराले भोलिको समाज र राष्ट्र कस्तो बन्छ भन्ने कुरा निर्धारण गर्दछ । हाम्रो विद्यालयमा प्रदान गर्ने शिक्षा र त्यहाँको वातावरणले शैक्षिक गुणस्तर निर्धारण गर्छ । यही मर्म र धर्मलाई पक्रेर हामीले विद्यालय रूपान्तरण अभियान सुरु गरेका थियौं ।’
२५ जना युवाहरूको समुहले ६ महिना लगाएर बालउद्यानको भौतिक संरचना बनाएका थिए । बालउद्यान निर्माणपछि युवाहरूले विद्यालयमा कक्षा कोठा निर्माण, प्राविधिक शिक्षा, नेपाली सेनाले प्रदान गर्ने एनसीसी ट्रेनिङ्गका लागि पहल गरेका थिए ।
अहिले विद्यालयमा डिप्लोमा तहको कम्प्युटर शिक्षा सञ्चालनमा आएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष रामजतन महतोले बताए । सरोकारवाला पक्षको लगानीमा विद्यालयमा नमुना कक्षा कोठा निर्माण भएको छ ।
युवा सञ्जालको कठोर मेहनतले आज विद्यालयले उपलब्धि चुमिरहेको विद्यालयका विद्यालयका सहायक प्रधानाध्यपाक संजित कुमार महतोले उल्लेख गरे ।
युवाहरूको योजना र मेहनतले विद्यालय परिसर रमणीय बनेको छ । अभियना संचालनका लागि पहल गरेका अमृत कुमार महतोले भने, ‘हामीले निर्माण गरेको सुन्दर बगैंचामा बालबालिकाहरू हाँस्दै खेलिरहेको देख्दा लाग्छ समाज रूपान्तरणका लागि काम गरेछौं भनेर निकै खुसी लाग्छ ।’
उनले विद्यालयमा सबैको चासोले बाहिरी वातावरण मात्र नभएर पढाईको गुणस्तरमा पनि सुधार आएको बताए ।