प्रदूषण नियन्त्रण नगरे कडा संघर्ष गर्ने चेताबनी

|

धनुषाको ढल्केवरस्थित पशुपति प्लाइबोर्ड उद्योगबाट निस्किरहेको कालो धुँवा ।

विजयकुमार साह
ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा मापदण्डविपरित सञ्चालनमा रहेका उद्योगहरुलाई व्यवस्थि गर्न स्थानीयले माग गरेका छन् । स्थानीयले बस्तीको बीचमा प्रदूषण फैलाइरहेका उद्योगहरुलाई व्यवस्थित गर्न सरोकारबाला निकाय समक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् ।

मिथिला उद्योग बाणिज्य सङ्घ ढल्केवरको अगुवाइमा स्थानीयले नगरपालिकाका,, वडा कार्यालय र उद्योग प्रशासनलाई प्रदूषण नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

मिथिला उद्योग बाणिज्य सङ्घका अध्यक्ष तेजनारायण साहले स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी मिथिला नगरपालिका–६, ढल्केवरमा पशुपत प्लाइबोर्ड उद्योग र श्रीरामजानकी प्लाष्टिक उद्योग सञ्चालनमा रहेको बताउनुभयो । उहाँले प्रदूषण नियन्त्रण नभए उद्योगविरुद्ध कडा सङ्घर्ष गर्ने जानकारी दिनुभयो ।

प्रदूषण नियन्त्रणका लागि पशुपति प्लाइबोर्डले सामान्य उपकरणसमेत नराखेको र पटक–पटक मौखिक जानकारी गराउँदा पनि चासो दिएको छैन । प्रदुषणका कारण उद्योग आसपासका जनताको जीवन नरकतुल्य भएको छ । उद्योगको चिम्नीबाट निस्कने धुँवाधुलोका कारण धोएर सुकाएको लुगा कालो हुने, घरभित्रै बसेर खाना खाँदा पनि खानाभरी धुलो बस्ने, श्वास लिनसमेत गाह्रो हुनेलगायतका समस्या स्थानीयले भोग्दै आएकोे अध्यक्ष साहले गुनासो सुनाउनुभयो ।


यस्तै, विद्यालय र बाक्लो मानववस्ती बीचमा सञ्चालित श्रीरामजानकी प्लाष्टिक उद्योगबाट निस्कने दुर्गन्धित गन्धले विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र वरपर वस्तीका मानिसको जनजीवन निकै कठिन बनेको छ । दुर्गन्धले निकट भविष्यमा विद्यार्थी, शिक्षक र आसपासका मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग लाग्नसक्ने र नाकले कुनै गन्ध थाहा नपाउने रोगलगायतका अन्य विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।

तसर्थ मापदण्ड विपरित सञ्चालित उद्योगहरुलाई व्यवस्थित तुल्याउन सरोकारबालालाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको उहाँले बताउनुभयो ।
स्थानीय दिपक लामाका अनुसार स्थानीयले दुईवटा विकल्पसमेत अघि सारेका छन् । “या त उद्योग नजिक भएका विद्यालय र मानववस्ती अन्त सार्नुप¥यो होइन् भने उद्योगहरुलाई उचित स्थानमा सार्नुप¥यो । जसरी भएपनि व्यवस्थित हुनुप¥यो । निरोगी जीवन बाँच्न पाउने हाम्रो नैसर्गिक अधिकार खोसिएको छ । यहाँ प्रदूषणमुक्त वातावरण निर्माण होस् भन्ने हाम्रो मुख्य चाहना छ ।”

प्रदूषणबाट पीडित भएकाहरुको पक्षमा मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र वडा जनप्रतिनिधि देखिएका छन् । उहाँले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।

उद्योग प्रशासनले प्रदूषण नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभयो । उद्योगको छेउछाउमा थोर बहुत प्रदूषण भइहाल्छ बताउँदै त्यसको पनि नियन्त्रणको पहल गरिहेको उहाँहरुले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ