एक वर्षमा दस हजार मानव बेखबिचन

|

विजय साह
ढल्केवर

धनुषाको ढल्केवरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

मिथिला नगगरपालिकाको आयोजना तथा ओरेक नेपाल, टिपिओ नेपाल, र इलाका प्रहरी कार्यालय ढल्केवरको सहयोगमा सोमबार चेतनामुलक कार्यक्रम गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १६ औँ राष्ट्रिय दिवस मनाइएको हो ।

कार्यक्रममा ओरेक नेपाल धनुषाकी संयोजक रोजलिन सिंह बछारले यस वर्ष मात्र नेपालबाट १० हजारको संख्यामा मानव बेचबिचन भएको तथ्याङ्ककले देखाएको बताइन् । उनले बढीजसो भारतलगायत विभिन्न मुलुकमा महिला तथा बालबालिकाको बेचबिखन भएको जनाइन् ।

मानव बेचबिचनमा संलग्नहरुले सोझासाझा महिला तथा बालबालिकालाई विभिन्न लोभलालच देखाएर विभिन्न मुलुकमा लगेर बेचबिखन गर्ने गरेको पाइएको छ । बेचिएका महिला तथा बालिकालाई वेश्यावृतिमा लगाउने, यौन दासी बनाउने, मनोरञ्जनको उद्योगजस्ता काममा लगाउने गरिएको संयोजक बछारले भनिन् । उनले मानव बेचबिखन र लैङ्गिक हिंसा न्यूनीकरण गर्न समाजिक संघसंस्था एवं प्रहरीप्रशासन सबै एकजुट भएर लाग्नुपर्ने जनाइन् ।

टिपिओ नेपाल धनुषाको प्रतिनिधि बिना कडारीले मानव बेचबिखन अन्त्य गर्न सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिनुपर्ने बताए । गरिबी र अशिक्षाकै कारण महिला र बालिका मानव तस्करको चङ्गुगमा पर्ने गरेको उनले भनिन् ।

हरेक वर्ष मानव बेचबिखन सम्बन्धी जनमानसमा सचेतना फैलाउने कार्यक्रम गरिँदै आएपनि नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि बनेको कानुन प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुनुपर्ने टिपिओ धनुषाकी प्रतिनिधि कडारीले बताइन् ।

हरेक वर्ष मानव बेचबिखन सम्बन्धी जनमानसमा सचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ, नेपालमा भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको छ तैपनि प्रभावकारी ढङ्गले कार्यान्वयन हुन नसक्दा पीडकहरू सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी हवल्दार राजु खानले मानव बेचबिचन विरुद्ध प्रहरी सक्रिय भएर लागेको बताए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विद्यालय तथा वस्तीहरुमा गएर सचेनामुलक कार्यक्रम नियमित गर्दै आएको उनले जनाए ।

हवल्दार खानले मावन बेचबिचनमा महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न संघ संस्था तथा स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।