
ढल्केवर, धनुषा
‘व्यावसायिक र सिर्जनशील विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ धनुषाको मिथिला नगरपालिकाका कर्मचारीले निजामती सेवा दिवस मनाएका छन् ।
मिथिला नगरपालिका–७ स्थित पर्यटन क्षेत्र मिथिला सागरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अथिति मिथिला नगरपालिकाकी उपमेयर सुनितासिंह बुढाथोकीले निजामती कर्मचारी मुलुकको धरोहर भएको बताए । उनले कठिन अवस्थामा पनि सेवा प्रदान गर्दै आइरहेका निजामती कर्मचारीले सुशासन कायम राख्दै अझ बढी प्रभावकारी ढङ्गबाट सेवाग्राहीको सेवामा जुट्न सुझाव दिए ।
कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले हरेक जनता समक्ष सरकारको अनुभूति दिलाउने गरी कार्य गर्दै आएको बताउँदै नगरपालिकामा कार्यरत अन्य निजामती कर्मचारीले आफ्नो पेशागत आचरणमा रही तोकिएको जिम्मेवारी कुशलताका साथ पुरा गर्दै आएको बताए । उनले नागरिक मैत्री भइ सेवा प्रवाह गर्न निर्देशन समेत दिए ।
प्रमुख प्रशासकीय अधिकृत डङ्गोलले निजामती कर्मचारीका समस्या र गुनासाका बारेमा सरकारले उचित ध्यान दिएर कर्मचारीको मनोबल उकास्नुपर्ने धारणा राखे ।
कार्यक्रममा मिथिला नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्याङ्गदनलगायत निजामती कर्मचारीको उपस्थित थियो ।
त्यसअवसरमा कर्मचारीहरुले पर्यटन क्षेत्र मिथिला सागरमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपेका थिए ।