
विजय साह
ढल्केवर
धनुषा जिल्लाको सबैला नगरपालिका–१३ किरतपुरकी १५ वर्षीया ज्योतिकुमारी बाल्यकालमै बेहुली नबने अठोट लिएकी छिन् । गाउँघरमा हुने बालविवाहविरुद्ध सचेतना अभियान तथा रोकथाम गर्दै आएकी ज्योतीले आफू बालविवाह नगर्ने बताइन् ।
उनी किरतपुरस्थित आधारभूत विद्यालयमा कक्षा आठमा पढ्दै छिन् । आसमान नेपाल नामक गैर सरकारी समाजिक संस्थाले बालविवाह न्यूनीकरण अभियान सफल बनाउन सोही वडामा गठन गरिएको छात्रा सञ्जालकी संयोजकसमेत रहेकी ज्योतीले विवाह गर्न सरकारले तोकेको उमेर हद पार गरेपछि र पढेलेखेर स्वयम् केही गर्न सक्ने भएपछि मात्र घरजमको बारेमा सोच्ने बताइन् ।
आफू बालविवाह नगर्ने अठोट लिएकी ज्योतीले गाउँघरमा हुने बालविवाहविरुद्ध सचेतना अभियान र रोकथामको प्रयास पनि गर्दै आएकी छिन् । आफ्ना साथीभाइलाई समेत बालविवाह नगर्न सल्लाह सुझाव दिँदै आएकी उनले छ महिना अगाडि आफू जतिकै उमेरको एक साथीको विवाह रोक्न सफल भएको बताइन् ।
आफूसँगै कक्षा आठमा पढ्ने एउटा केटी साथीको विहेको कुरा चल्यो । उमेर नपुग्दै साथीको विहे हुन लागेको सुनेर मन खिन्न भयो । यो कुरा सँगै पढ्ने अन्य साथीलाई सुनाए । साथीहरु पनि कलिलै उमेरमा एउटा साथीको विहे हुने लागेको खबर सुनेर दुःखी भए । हामी सबैले विवाह रोक्ने योजना बनाऔं । यो विवाह जसरी पनि रोक्ने । त्यसपछि हामीले सोच्यौं साथीको बुवाआमालाई भन्दा हाम्रो कुरा मान्दैनन् के गर्ने ?
केटा होस् वा केटी २० वर्षभन्दा मुनि विवाह गरे बालविवाहमा गन्ती हुन्छ । र, बालविवाह गर्नु नेपालमा कानुनीरुपमा अपराध पनि मानिन्छ । अरु थुप्रै शारिरीक र घरायसी समास्यासँग जुद्धनु पर्छ । यो कुरा हामीलाई विद्यालयको पाठ्यपुस्त र सामाजिक क्षेत्रमा कार्यरत गैर सरकारी संस्था आसमान नेपालले चलाएको बालविवाह न्यूनिकरण सम्बन्धि कार्यक्रमबाट थाहा थियो ।
हामीले आसमान नेपालका सर र म्याडहरुलाई गएर यो सब कुरा सुनायौं । सर र म्याडहरु आएर ति साथीको अभिभावकलाई सम्झाइ बुझाई गरेपछि छोरीको विवाह नगरिदिने बरु जति पढ्छ पढाउने कुरामा सहमत सहमत भयो । विवाह के हो ? विवाहपछिका जिम्मेवारी के–के हुनसक्छ ? यो कुराको जानकारी नै नभएको साथीको कलिलै उमेरमा हुन लागेको विवाह रोक्न हामी सफल भयौं, ज्योतीले वितेका घटना सुनाइन् ।
‘उमेर नपुग्दै बिहे गरेका महिलाहरुको हालत देखेकी छु । न उनीहरुको शरीर नै स्वस्थ्थ देखिन्छ, न भविष्य नै । उनीहरु खुसी पनि हुँँदैनन् । म पढ्न चाहन्छु । आफ्नो खुट्टामा उभिएपछि भोली सानोतिनो समस्याका लागि अरुसँग हात फैलाउनु पर्दैन,’ छात्रा संजालकी संयोजक ज्योतीको कथन छ ।
आसमान नेपाल सबैला शाखा छात्रा सञ्जालकी संयोजक दुर्गा अधिकारीले एक दशकअघिसम्म प्रत्येक घरपरिवारमा हुने बालविवाह अहिले घट्दै गएको बताइन् । बालविवाहको शिकार हुने बालिकाहरु नै यसको विरोधमा खुलेर बोल्न थालेका छन् । परिवारका सदस्यसँग ढुक्कले आफ्ना कुरा राख्ने किशोरीहरुले अरुका अभिभावकहरुलाई विभिन्न उदाहरण दिँदै सचेत बनाएका छन्, उनले भनिन् ।
संयोजक अधिकारी भन्छिन्, ‘समाज अप्रत्याशित तरिकाले परिवर्तन भएको छ, बाबुआमाहरु छोरीको भविष्यप्रति अझ बढी चिन्तित हुन थालेका छन् ।’ सबैला नगरपालिका क्षेत्रमा पहिले जस्तो सानैमा बिहे गर्ने र गौना दिने चलन कम हुँदै गएको छ । बालविवाह घट्दै जानुमा किशोर–किशोरीको भूमिका महत्वपूर्ण छ । सबैला नगरपालिकाको सबैजसो वडामा छात्रा सञ्जाल समूह छन् । उनीहरु त्यहाँ छलफल गर्छन् र कसैको उमेर नपुग्दै वा इच्छाविपरीत बिहे हँुदै गरेको थाहा पाए अवरोध गरिहाल्छन् ।
छोरीको सानैमा बिहे गरिदिँदा पुण्य कमाइने, इज्जत जोगिने धारणा अझै परिवर्तन हुन सकेको छ्रैन, संयोजक अधिकारीले भनिन् ।