विजय साह / ढल्केवर धनुषा
करिब डेढ दशकदेखि धनुषाका चारवटा स्थानीय तहमा सञ्चालित ‘निक शिक्षा दिअ’ अभियानले राम्रो प्रभाव पारेको पाइएको छ ।
यो अभियानले दलित र मुस्लिम समुदायका बालबालिकालाई विद्यालयसम्म पु¥याउन शैक्षिक सामग्री वितरण गरिरहेको छ । यसको प्रभावस्वरूप केही वडाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । लक्ष्मीनियाँ गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा आसमान नेपालको यो परियोजना सञ्चालित छ ।
आसमान नेपाल गणेशमान चारनाथ नगरपालिकाका संयोजक नागेन्द्र पासवानले बालबालिकाको सिकाइको निरन्तरता, मनोसामाजिक असर तथा प्रभाव कम गर्न शिक्षण सिकाइका विभिन्न विकल्प प्रयोग गरिएको बताए ।
उनका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नोत्तर सोध्ने, हाजिरीजवाफ प्रतियोगिता गर्ने अभियान सञ्चालन भएका थिए ।
आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।
यसरी क्रियाकलाप भएपछि करिब ८० प्रतिशत विद्यार्थी नियमित रूपमा विद्यालय पुगेका र ३० प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षिक क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ । गणेशमान चारनाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद र शैक्षिक गतिविधिमा राम्रो प्रभाव परेको जानकारी दिए ।
संयोजक पासवानले विद्यालय भवन, शौचालय, खानेपानीलगायतको भौतिक सहयोग गरेपछि पढाइको वातावरण बनेको जनाए । उनले यस क्षेत्रमा रहेका मुस्लिम समुदायले सरकारी विद्यालयबाट शिक्षा लिन थालेको बताए ।
उहाँका अनुसार मदरसामा रहने मौलानाले मदरसालाई नेपाल सरकारको सरकारी निकायमा दर्ता गरेसँगै सरकारी बजेटसहित शैक्षिक रूपमा फाइदा लिएका छन् । अहिले ती विद्यार्थीले उर्दु र कुरानको शिक्षासँगै नेपाली, अङ्ग्रेजी, विज्ञान, गणितलगायतका शिक्षा पनि लिएका छन् ।
गणेशमान चारनाथ नपाको गौरी छात्रा सञ्जालकी सचिव अर्मिसाकुमारी अधिकारीले विगतमा विद्यालय नजाने मुस्लिम समुदायका बालबालिका पढ्नुपर्छ भनेर विद्यालयमा जान थालेको बताइन् ।