ढल्केवरमा पनि मनाइयो विश्व आत्महत्या रोकथाम दिवस

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । मिथिला नगरपालिकाको आयोजना तथा गैर सरकारी संस्था टिपिओ नेपाल र इलाका प्रहरी कार्याय ढल्केवरको सहयोगमा ‘आशा जगाऔं, जीवन बचाऔं’ मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम गरी विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो ।

अन्तरक्रिया कार्यक्रममा टिपिओ नेपाल धनुषा प्रतिनिधि तथा मनोपरामर्शकर्ता बिना कडारीले आत्महत्या विरुद्धको दिवस विश्वमै अहिले आत्महत्याका घटना बढिरहेको धारणा राखे । गरिवी, अशिक्षा, बेरोजगारी, घरेलु हिंसा, मानसिक तनावकालगायत विविध कारणले विश्वमै आत्महत्याका घटना बढिरहेको बताए ।


उनले विश्वमा वर्षेनी करिब आठ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेको बताउँदै भने नेपालमा आत्महत्या गर्नेमा युवा उमेरका बढी रहेको जनाइन् ।

मनोपरामर्शकर्ता कडारीले आत्महत्या किन रोज्छन् र रोकटथामका उपायबारे बताउँदै उनले यदि व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भनी शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ भनिन् । उसलाई त्यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्छ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ता कहाँ लैजानुपर्छ भन्ने सुझाव दिइन् ।

कार्यक्रममा मिथिला नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नन्दकिशोर यादव, इलका प्रहरी कार्यालय ढल्केवरका प्रहरी हवल्दार राजु खानलगायतका वक्ताहरुले आत्महत्या ठूलो समस्याको रुपमा देखा परेकोमा चिन्ता व्यक्त गर्दै वक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहने बताए ।