
ढल्केवर, धनुषा
धनुषामा आसमान नेपालले ‘निक शिक्षा दिअ’ परियोजना सञ्चालन गरेको नगरपालिकामा शिक्षाको स्तरमा वृद्धि भएको छ । आसमान नेपालले धनुषाको लक्ष्मीनियाँ गाउँपालिकासहित गणेशमान चारनाथ, सबैला र नगराइन नगरपालिकामा यो परियोजना सञ्चालन गरेका छन् ।
परियोजनाअन्तर्गत विद्यालय जाने उमेर पुगिसकेका बालबालिकालाई विद्यालय पठाउन सहयोग गर्ने, बीचमै पढाई छोडेका र अनियमित विद्यालय जाने विद्यार्थीको समस्या पहिचान एवं त्यसको निदान खोजेर नियमित विद्यालय पठाउन वातावरण सिर्जना गर्ने, आवश्यक पठ्नपाठन लगायतका सामाग्री उपलब्ध गराउने जस्ता कार्यले गर्दा यि पालिकाहरुमा शिक्षाको स्तरमा वृद्धि भएको हो ।
आसमान नेपाल सबैला नगरपालिकाको समाजिक परिचालिका दुर्गा अधिकारीले विद्यालय जाने उमेर पुगेर पनि जनचेतना अभाव तथा विभिन्न समस्याका कारण विद्यालयसम्म पुग्न नसकेका त्यस्ता बालबालिकालाई ‘निक शिक्षा दिअ’ परियोजना अन्तर्गत विद्यालय भर्ना हुन सघाएपछि विद्यालयमा विद्यार्थीको संख्या बढेको बताइन् ।
आसमान नेपाल सबैला नगरपालिका संयोजक परवेज आलमले चालू शैक्षिक सत्रमा मात्रै सबैला नगरपालिका क्षेत्रभित्रका १३८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको बताए ।
उनले शैक्षिक सत्र २०७७ मा १ हजार २१५ र २०७८ मा १ हजार ५१७ बालबालिकालाई विद्यालय भर्ना गराउनु सफल भएको जानकारी दिए । त्यसमध्ये समग्रमा ७९ प्रतिशत बालबालिका नियमित विद्यालय जाने गरेको छ ।
यस्तै, आसमान नेपाल गणेशमान चारनाथ नगरपालिका संयोजक नागेन्द्र पासवानले २०७६ साल गरिएको एक सर्वेमा नगरपालिका क्षेत्रभित्र दुई हजार दुई जना बालबालिका विद्यालय बाहिर रहेको पाइएको बताए । सर्वेक्षणमा ४ वर्षदेखि १८ वर्ष उमेर समूहलाई समेटिएको थियो ।
त्यसमध्ये शैक्षिक सत्र २०७७ मा ७८५, २०७८ मा ७०१ र चालू शैक्षिक सत्रमा ४३६ गरि १ हजार ९२२ बालबालिकाललाई परियोजना अन्तर्गत विद्यालय भर्ना गराएको बताए । जसमध्ये ७९ प्रतिशत बालबालिबा नियमित विद्यालय जाने गरेका छन् । विद्यालय भर्ना भएका मध्ये कतिपय विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएपनि संस्थागत विद्यालयमा पढ्ने गरेका कारण नियमित उपस्थितमा २१ प्रतिशत कम देखिएको छ । यसका साथै ३८ जना बालबालिका पूर्ण अपाङ्ग रहेको, ४२ जना १५ वर्षभन्दा बढी उमेर भएका कारण विद्यालय जान नसकेको हो ।
संयोजक पासवानले पछिल्लो सर्भे अनुसार गणेशमान चारनाथ नगरपालिकामा ३१ जना बालबालिका मात्रै विद्यालय बाहिर रहेको बताए । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई सचेतना मूलक कार्यक्रम तथा शिक्षाको महत्वको बारेमा जानकारी गराउँदै गएपछि शैक्षिक सत्र २०७९ सम्ममा दुई हजार दुई बालबालिकालाई विद्यालयसम्म ल्याउन सफल भएको उनले जानकारी दिए ।
आसमान नेपाल गणेशमान चारनाथ नगरपालिकाको समाजिक परिचालिका शारदा यादवले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयसम्म ल्याउन छात्रा सञ्जाल र शिक्षक–शिक्षिकाहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताइन् । विद्यालय बाहिर रहेका बालबालिकाहरुको बारेमा छात्रा सञ्जालले कार्यालयलाई जानकारी गराउने र विद्यालयसम्म ल्याउने पहलसमेत गर्ने गरेको जनाइन् ।
यसैगरी गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक चन्देश्वर महतोले यस नगरपालिकामा आसमान नेपालले ‘निक शिक्षा दिअ’ परियोजना सुरु गरेपछि विद्यालयमा विद्यार्थीको संख्या बढ्को र शिक्षाको स्तरमा समेत वृद्धि भएको बताए ।