गलती नदोहोर्याउने वचनबद्धतापछि प्रदेशसभा सदस्यको टिकट

|

ढल्केवर, धनुषा

धनुषास्थित मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले प्रदेशसभा सदस्यका लागि आइतबार मनोनयन दर्ता गराएका छन् । उनले नेकपा एमालेको टिकट पाएपछि धनुषा–४ निर्वाचन क्षेत्र (ख) मा मनोनयन दर्ता गराएका हुन् ।

यसअघि चैत महिनासम्म सम्पन्न स्थानीय तहको चुनावमा मनोनयन दर्ताको अन्तिम क्षणमा पूर्व मेयर महतोको मेयरको टिकट पार्टीले खोसिएको थियो । उनीसँग खोसिएको पार्टीको टिकट पार्टीका अर्का नेता राजाराम महतोलाई दिइएको थियो ।

पार्टीको नगरपालिका कार्यसमिति, जिल्ला र प्रदेशले समेत मेयरका लागि महतो नाम सिफारिस गरेपनि मनोनयन दर्ताको अन्तिम दिन राजारामलाई पार्टीले टिकट दिएको थियो । पार्टीका केही उप्पलो नेताले धोखा दिएको भन्दै पूर्व मेयर महतो आवेगमा आएर पार्टीबाट राजिनामाको घोषषा गर्दै मिथिला नगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

उम्मेदवारी दर्ता गराए लगतै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई उनी भेट्न पुगेका थिए । भेटघाटपछि फर्किका उनले आफ्नो मनोनयन फिर्ता लिएका थिए । यसबीच उनलाई पार्टीबाट निकालिएको खबरसमेत बाहिरिएको थियो ।

जसरी खोसियो त्यसरी नै पाए प्रदेशसभा सदस्यको टिकट
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिथिला नगरपालिकाका पूर्व मेयर महतोले स्थानीय तहको चुनावमा जसरी मनोनयनको अन्तिम क्षणमा टिकट पाउनबाट बञ्चित भएका थिए त्यसैगरी नै प्रदेशसभा सदस्यको टिकट मनोनयन दर्ताको अन्तिम क्षणमा पाएका थिए ।

स्थानीय तहको चुनावका बेला मनोनयन दर्ताका लागि तयारी पुरा गरेर निर्वाचन अधिकृतको कार्यालय जाने समयमा पार्टीले उनलाई टिकट नदिएर अर्कैलाई टिकट दिएको खबर महतोले पाएका थिए । ठीक त्यसरी नै उनले अरुले टिकट पाउने अवस्थामा रहेको समयमा प्रदेशसभा सदस्यको टिकट पाए ।

प्रदेशसभा सदस्यका लागि पार्टीले सोमप्रसाद शर्मालाई टिकट दिने टुङ्गो लगाइसकेको थियो । तर आइतबार नेकपा एमालेका केन्द्रीय सचिव रघूवीर महासेठको महेन्द्रनगरस्थित घरमा बसेको पार्टीको समिक्षा बैठक पश्चात महासेठले महतोलाई आइतबार करिब ३ बजे प्रदेशसभा सदस्यका लागि पार्टीको टिकट दिइएको थियो ।

गलती नदोहो¥याउने वचनबद्धतापछि प्रदेशसभा सदस्यको टिकट
एमाले सचिव महासेठको महेन्द्रनगरस्थित घरमा बसेको समिक्षा बैठकमा पूर्व मेयर महतोले गलती नदोहो¥याउने वचनबद्धता गरेपछि उनलाई पार्टीको टिकट दिइएको बैठकमा सहभागी एकजना कार्यकर्ताले बताए । उनीमाथि स्थानीय तहको चुनावमा मिथिला नगरपालिकामा पार्टीका उम्मेदवारलाई नसघाएको आरोप लागेको थियो । जसको कारण पार्टीलाई विगतमा भएको क्षतिप्रतिको भूल सुधार गर्दै संगठनलाई अझ उचाईँमा पु¥याउने प्रतिवद्धता गरेपछि पूर्व मेयरलाई प्रदेशसभा सदस्यको टिकट प्रदान गरिएको उनले जानकारी दिए ।