एमालेका मधेश प्रदेश सदस्य डा. यादव कांग्रेसमा प्रवेश

|

ढल्केवर, धनुषा

नेकपा एमालेका मधेश प्रदेश सदस्य डाक्टर सञ्जीव यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

बुधबार नेपाली कांग्रेसद्वारा धनुषाको लक्ष्मीनियाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रभावशाली नेता तथा मधेश प्रदेशका सदस्यसमेत रहेका यादवसहित ६० जनाभन्दा बढी एमाले तथा जसपाका नेताकार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई सहमहामन्त्री यादवले अबिरमाला तथा दोसल्ला ओढार पार्टीमा स्वागत गरे ।

एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका डा. यादवलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकल शासन चलाउन थालेको र जनताको समस्याप्रति गम्भीर नदेएपछि आफूले एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेको बताए ।

दशक लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय डा. यादव एमालेबाट प्रदेशसभा सदस्यको टिकट पाउने लाइनमा थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मुखमा एमाले तथा जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकाले समग्र नेपाली कांग्रेसलाई फाइदा पुग्नेछ ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री यादवले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनिहरुले लिएका निर्ण सही भएको बताए ।

उनले नेपाली कांग्रेसको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकमना पनि दिए ।