एमालेबाट समानुपातिक तर्फका उम्मेदवार काँग्रेसमा

|

ढल्केवर, धनुषा
नेकपा एमाले मधेस प्रदेशका सदस्य तथा नेकपा एमाले पार्टीको तर्फबाट मधेस प्रदेश प्रदेश सभा सदस्य समानुपातिक तर्फका उम्मेदवार बनेकी नेतृ फुल कुमारी महतो नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्

पार्टीबाट सिफारिस भई नेकपा एमालेको बन्दसूचिमा समानुपातिक उम्मेदवारको मधेसी तर्फ ९ नम्बरमा रहेकी महतो काँग्रेसमा प्रवेश गरेकी हुन् । महतो अखिल महिला सङ्घको सचिवालय सदस्य समेत थिइन् ।

उनलाई आज नेपाली काँग्रेसका सहमहामन्त्री तथा धनुषा ४ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका महेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । उनले महतोलाई फुलमाला लगाएर पार्टीमा प्रवेश गराए ।

पार्टीमा भएको तानाशाही प्रवृतिको विरोध गर्दै एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको महतोले बताईन् ।


‘मुलुकमा सबैभन्दा बढी नागरिकताबिहीन मधेशमै छन् र अहिले मधेशको मुख्य मुद्दा पनि नागरिकता नै । तर, सोही विषयमा पार्टी सकारात्मक नभएकोले पार्टी परित्या गरेको हुँ ।’ उनले भनिन्, ‘भनिन् पार्टीमा नागरिकताको विषयमा सकारात्मक हुन पटकपटक सल्लाह, सुझाव र आग्रह गर्दा पनि सकारात्मक नहुँदा सो पार्टीमा बस्नुभन्दा परित्याग गर्नु उचित ठानेर मधेसको पक्षधर लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एक मात्र पार्टी काँग्रेस रहेको हुँदा यसमा प्रवेश गरेको हुँ ।’

राजनीतिमा स्वार्थ हुनु भएन । जनताको सुखदुखमा साथ रहनु एउटा सच्चा राजनेताको काम भएकोले सो प्रमाणित गर्न पनि मधेशको पक्षमा उभेर काँग्रेसमा प्रवेश गरेको उनको भनाइ छ ।

काँग्रेस सहमहामन्त्री यादवले पार्टीमा प्रवेश गराउँदै महतोलाई मधेसको पक्षमा वकालत गर्न काँग्रेसमा प्रवेश गरेको भन्दै बधाई दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका २२ मा आयोजित काँग्रेसको घर दैलो अभियानको क्रममा उनलाई यादवले प्रवेश गराएको हो । नागरिक मिरर