राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नैपर्छ : सत्रुधन महतो

|

ढल्केवर, धनुषा

नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तथा धनुषा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार सत्रुधन महतोले राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने बताएका छन् ।

मंगलबार मिथिला नगरपालिका–२ नकटाझिजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनको क्रममा उनले त्यस्तो बताए । मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्रीसमेत रहेका महतोले नेकपा एमाले गणतन्त्र र संघीयताविरोधी शक्ति भएको आरोप लगाउँदै प्राप्त राजनीतिक उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने बताए ।

‘हिजो जुनबेला जनता गणतन्त्र र संविधानसभाका लागि आन्दोलित थिए, त्यो बेला उनी न त सडकमै आए, न त आन्दोलनको पक्षमा वक्तव्य नै निकाले । उनले केवल बालकोटमा बसेर आन्दोलनको विरोध गर्ने काम मात्रै गरे । गणतन्त्र र संघीयताका लागि कुनै संघर्ष नगरेको हुनाले नेकपा एमाले अहिलेको राजनीतिक उपलब्धिप्रति उदासिन भएको आरोप समेत लगाए ।

उनले भने, ‘बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भएको पुष्टि भइसकेको छ ।’ हिजोका राजनीतिक दुश्मनसँग चुनावी तालमेल गरेर जनतालाई मुर्ख बनाइरहेको धारणा राख्दै ‘देशलाई अग्रगमनमा लैजान वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनैपर्छ भने । अहिले पार्टीभन्दा पनि गठबन्धनका तर्फबाट आफूहरुको उम्मेदवारी भएकाले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियारले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने र मुुलुकमा प्राप्त उपलब्धिको रक्षा हुने धारणा राखेका थिए ।