जसपाप्रति मतदाताको उत्साह देखिएको छ : महाजन यादव

|

ढल्केवर, धनुषा

जनता समाजवादी पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी घरदैलो अभियान तीव्र बनाएको छ । घरदैलो अभियानको क्रममा मंगलबार बटेश्वर गाउँपालिका–१ मा प्रतिनिधिसभाका उम्मेदवार महाजन यादव र प्रदेशसभा (ख) का उम्मेदवार चन्देश्वर महतोले घरदैलो कार्यक्रम गरेको हो ।

घरघरमै पुगेर उम्मेदवारहरुले मतदातालाई भेट्दै मत मागेका थिए । घरदैलो अभियानका क्रममा जनता समाजवादी पार्टीप्रति मतदाताको उत्साह देखिएको प्रतिनिधिसभा सदस्यका उम्मेदवार यादवले बताए । ‘अबका केही दिन हामीले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिनेछौं । त्यसपछि पनि मतदाताको घरघरमा पुग्ने र भेटघाट गर्ने कार्यक्रम निरन्तर रहन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो पार्टी र उम्मेदवारहरुप्रति मतदाताको धेरै उत्साह देखिएको छ ।’

यस्तै, प्रदेशसभा सदस्यका उम्मेदवार चन्देश्वर महतोले झुटा कुरा गर्ने, भ्रम फैलाउने र आश्वासन मात्रै दिने उम्मेदवारलाई भन्दा विकासको कामलाई अघि बढाउने उम्मेदवारलाई मत दिन अपिल गरेको बताए ।

‘घरदैलो अभियानको क्रममा एकप्रकारको उत्साह पाएका छौं’ उम्मेदवार महतोले भने ‘विकासको लहर ल्याउनका लागि मौका दिनुहोस् भनेका छौं । हाम्रो मुल्याङ्कन आम मतदाताले मत प्रदान गरेर गर्नुहुन्छ ।

घरदैलो अभियानको क्रममा आदिवासी जनजाती कोटाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार ममता मण्डल, मधेशी महिला कोटाबाट बिन्दुकुमारी यादव, अल्पसंख्यक कोटाबाट उर्मिलादेवी साह र दलित कोटाबाट चन्देश्वर सदासहित जसपाका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थििति थियो ।