धनुषा –४ ’ख’ मा सत्ता गठबन्धनको अवस्था बलियो

|

दिवेश कुशवाहा, ढल्केवर

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगमी बढेसँगै उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।
धनुषा –४ ’ख’ मा ५ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पाँच दलिय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो ,नेकपा एमालेका हरिनारायण महतो,जनता समाजवादी पार्टी नेपालबाट चन्देश्वर महतो उम्मेदवार छन् । जनमत पार्टीबाट डा.सत्यनारायण सिंह,राप्रपाबाट कपलेश्वर महतो,जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्की, राप्रपा नेपालबाट बासुदेव सुवेदीउम्मेदवार छन् । यस्तै जसपाबाट विद्रोह गरी रामनरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

धनुषा ४ को प्रतिनिधि सभामा एमाले र जसपाबीच चुनावी तालमेल नहुँदा उनीहरुले प्रतिनिधि र प्रदेश सभामा मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् ।

यधपी यी मध्ये सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादी का शत्रुधन महतो र नेकपा एमाले का हरिनारायण महतो बिच कडा प्रतिस्पर्धा हुने भएको छ। यी दुवै पुर्व सहयात्री नै हुन्। शत्रुधन महतो एमाले विभाजन अघि सोही पार्टीबाट यस क्षेत्रबाट लगातार तीनपटक विजयी भएका थिए । दुईपटक संविधानसभा सदस्य र एकपटक प्रदेश सभा सदस्य बने उनी । अहिले उनी मधेश सरकारका बहालवाला उद्योग, पर्यटन तथा वनमन्त्री हुन् । तीनपटक उनलाई जिताउन हरिनारायणको भूमिका रह्यो । हरिनारायण पनि मिथिला नगरपालिकाका पूर्वमेयर हुन् । हरिनारायणलाई मेयर जिताउन पनि शत्रुधनको ठूलो भूमिका थियो । शत्रुधन र हरिनारायण एमालेका धनुषा जिल्ला अध्यक्ष रहिसकेका छन् । शत्रुधन लामो समयदेखि त्यस क्षेत्रमा काम गर्दै आएको र हरिनारायण पनि मिथिला नगरपालिका को मेयर भएर एक कार्यकाल चलाएको हुनाले , दुवैको कामको मुल्यांकन जनताले गरिरहेको हुनाले यसपाली यी दुई मध्ये को आउँछन् भन्न गाह्रो छ। किनकि सत्ता गठबन्धन का उम्मेदवार शत्रुधन महतो बलियो देखिए पनि हरिनारायण महतो राजनितिका चतुर खेलाडी मानिन्छ।

शत्रुधन अहिले नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य छन् भने हरिनारायण एमालेका केन्द्रीय सदस्य । एमाले विभाजनका कारण यसपटक दुबैजना फरक दलबाट उम्मेदवार हुँदा प्रतिस्पर्धा रोचक बनेको छ । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा शत्रुधनले कांग्रेसका बासुलाल महतोलाई पराजित गरेका थिए ।

यस प्रदेशसभा क्षेत्रमा २२ वटा वडा पर्छन्, जसमा १६ वटा वडा गठबन्धन घटक दल कांग्रेस, एकीकृत समाजवादीसहितका दलले जितेका छन् । अन्य वडामा एमालेले जितेको छ ।
यो क्षेत्रमा कांग्रेस र एमालेको बलियो पकड छ । गत स्थानीय तहको निर्वाचन परिणाम अनुसार कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति हो । तेस्रोमा नेकपा एकीकृत समाजवादी, त्यसपछि क्रमशः माओवादी र जसपा लगायत दल छन् ।

यस क्षेत्रमा पटक–पटक जितेर शिक्षा, स्वास्थ्य, सडक, सिंचाइ, खानेपानी लगायत सबै क्षेत्रमा गरेको विकास एवंम जनताबीचमा रहेको राम्रो सम्बन्धले अत्यधिक मतले चुनाव जित्नेमा शत्रुधन ढुक्क छन् । एमालेबाट पूर्वसहयात्री एक्लो प्रतिस्पर्धामा आएपछि आफूलाई जित निकाल्न सजिलो भएको उनको दावी छ ।

‘मुद्दाको आधारमा हामी चुनावमा छौं । मधेशको सबभन्दा ठूलो समस्या नागरिकता हो । जुन मुद्दा हाम्रो छ । गठबन्धनको फराकिलो मत छँदैछ । २२ वटा वाडा मध्ये १६ वटा वाडा गत स्थानीय चुनावमा गठबन्धनले जितेको छ । जनताको सुखदुःखमा म साथ छ । यो आधारहरुले म जित्नेमा ढुक्क छु’, शत्रुधनले भने ।

शत्रुधनले भने जसरी उनको जित भने कांग्रेको मतमा नै निर्णायक हुने सम्भावना छ । तर, शत्रुधन लगातार यस क्षेत्रबाट तीनपटक जितेकाले उनको विकल्पको आवाज कांग्रेस भित्र उठिरहेको छ । त्यसैले हरिनारायण त्यस्तो मत आफ्नो पक्षमा पार्ने अभियानमा छन् ।

एमालेको बलियो संगठन, लगातार एमालेबाट जितेर १५ वर्ष पूर्वसहकर्मी शत्रुधनको परीक्षण भइसकेकाले विकल्पमा आफूलाई निर्वाचित गराउने हरिनारायाणको विश्वास छ ।

‘म पनि ४० वर्षदेखि जनताको बीचमा छु । एमाले यस क्षेत्रमा बलियो छ । जनताले अवसरवादीलाई चिन्छन् । पटकपटक जित्दा समेत राम्रो विकास गरेनन् । जनता यसपटक चिनेर विकल्पमा मलाई जिताउनु हुन्छ भन्नेमा विश्वस्त छु’, हरिनारायणले भने ।

मिथिला नगरपालिकामा एक कार्यकाल उनको पनि परीक्षण भइसकेको छ । कांग्रेसले पनि हरिनारायणप्रति त्यति सन्तुष्ट देखिँदैनन् । यो अवसरको लाभ तेस्रो नम्बरमा देखिने जसपा उम्मेदवार चन्देश्वर महतो उठाउन चाहन्छन् । शत्रुधन र हरिनारायण जनतामा परीक्षण भइसकेकाले विकल्पमा आफूलाई जनताले जिताउने चन्देश्वरको विश्वास छ । चन्देश्वर महतो जसपा धनुषा जिल्ला इन्चार्ज पनि हुन् ।

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टी का डा. सत्यनारायण सिंह पनि चुनावी प्रचारप्रसारमा सक्रिय रहँदै आएको छ। उनले भने ’म डाक्टरी पेसाले निरन्तर रुपमा जनताको सेवा गर्दै आएको छु। ढल्कवेरको ओम शान्ति पोलिक्लिनिक बाट जनतालाई सहज र सुलभ तरिकाले जनता को पिडामा मलहम लगाउदै आएको छु । म्याद गुज्रिएको औषधी लाई हटाउनुपर्छ,सोही अनुरूप काम गर्न नसक्ने नेतालाई पनि भोट दिनु हुदैन। २०७४ सालमा पनि प्रतिनिधि सभाको चुनाव लडेको थिए, निरन्तर जनताको साथ मा रहेकोले जनताले म माथि विश्वास गर्छन्।

स्वतन्त्रबाट व्यक्तित्वको हिसाबले रामनरेश सिंह लोकप्रिय नेता मानिन्छन् । उनले पनि राम्रो मत तान्ने सम्भावना छ । उनी जेब्रा छाप लिएर घरदैलोमा व्यस्त देखिन्छ।