सत्तागठबन्धन एमालेविरुद्ध भ्रम छर्दैछ : रघुवीर महासेठ

|

ढल्केवर, धनुषा

नेकपा एमालेका केन्द्रीय सचिव तथा धनुषा–४ प्रतिनिधि सभाका उम्मेदवार रघुवीर महासेठले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएका छन् । उनले समाज तथा राष्ट्र निर्माणको निम्ति एमालेको विकल्प नभएको उल्लेख गर्दै मंसिर ४ को निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरे ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा बिहिबार पार्टीले आयोजना गरेको वडा भेलामा महासेठले मंसिर ४ को निर्वाचनले सत्ता गठबन्धनलाई जरैदेखि उखेलेर फाल्ने बताउँदै जनताले जनमत नदिएर सधैंका लागि विदा गर्ने बताए ।

दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासोन्मुख राष्ट्रको रुपमा स्थापित गराएको बताउदै उनले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकास बन्द गराएको जनाए ।

उनले केपी ओली नेतृत्वको सरकारले साना तथा ठूला एवं राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा सुरु गर्दै विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जताततै लहर नै सुरु गरेपनि गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न नपाएको बताए ।

नेता महासेठले भने, मुलुकमा विकासका पूर्वाधारको उद्घाटन र शिलान्याको लहर चलेको थियो, तर यो सरकार आएसँगै यस वर्ष सबै आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै उनले सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने बताए । निर्वाचनमा एमालेसँग प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको भन्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको भने ।

एमाले मुलुक र जनताप्रति शतिसाल झैं उभिएको स्मरण गराउँदै नेता महासेठले गठबन्धनका दलहरुले जनतासँग भोट माग्ने नैतिक अधिकार समेत नभएको बताए । विकासको बजेट समेत कटौती गरी जनताको भाग्य र भविष्य खेलवाड गर्न खोजेको आरोप लगाए ।

निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरी बुथमा दवाप दिएर अगाडी बढ्ने गठबन्धन दलहरुको योजना आफुहरुलाई जानकारी आएको उल्लेख गर्दै उनले दवाव दिएर निर्वाचनलाई विथोल्ने प्रयास गर्ने सपना नदेख्न चेतावनी दिँदै आफू भारी मतका साथ सानदार विजयी हुने दावी समेत गरे ।

यसैगरी, कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा धनुषा–४ (ख) बाट प्रदेश सभाका उम्मेदवार हरिनारायण महतोले आगामी निर्वाचनमा एमालेको नेतृत्वमा विगतमा भएको कामहरुको मूल्याङ्कन नै विजयी हुने महत्वपूर्ण आधार भएको बताए । विगतको पाँच वर्ष एमालेको नेतृत्वमा पूर्वाधार विकासमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकासको नयाँ भिजन र दृष्टिकोणको आधारमा अगाडी बढ्ने प्रतिवद्धता गरे । एमालेका उम्मेदवार योग्य व्यक्ति रहेको दावी गर्दै उनले जनताको भाग्य र भविष्यलाई उज्वल बनाउने पार्टी एमालेमात्र भएको दावी गरे ।