ढल्केवर, धनुषा
नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका धनुषा ढल्केवरका योगेन्द्र महतो पुनः नेकपा एकिकृत समाजवादीमा फर्किका छन् ।
शनिबार धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा महतो एमाले परित्याग गरी एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
महतो वैशाख महिनामा सम्पन्न स्थानीय तहको चुनावमा एकिकृत समाजवादीको तर्फबाट मिथिला नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष पदमा चुनाव लडेका थिए । उनलाई नेकपा एकिकृत समाजवादीका नेता तथा धनुषा–४ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार सत्रुधन महतोले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
स्थानीय तहको चुनाव ३१२ मत पाएर वडामा तेस्रो स्थान ल्याएका महतो दुई महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको काठमाडौंको बालकोटस्थित घरमै गएर एमालेमा प्रवेश गरेका थिए ।