एमालेको किल्लामा कांग्रेसको चोट, एमालेका ७० भन्दा बढीलाई कांग्रेसले गराए पार्टी प्रवेश

|

ढल्केवर, धनुषा

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतदान हुन अब केही दिन मात्र बाँकी छ । यही बेला उम्मेदवारहरुले मत संख्या बढाउन अरु पार्टीका मतदाता तथा नेता कार्यकर्तालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउने क्रम बाक्लिएको छ ।

यस्तै, धनुषाको मिथिला नगरपालिकामा पनि पार्टी प्रवेशको जुहारी नै चलेको छ । सत्तागठबन्धनका उम्मेदवारले एमालेका कार्यकर्ता तान्ने र एमालेले सत्तागठबन्धनका मतदातालाई पार्टी प्रवेश गराउने क्रम चलेको छ ।

यसैक्रममा धनुषाको मिथिला नगरपालिका–८, कुसुमबिछौनामा मंगलबार ७० जनाभन्दा बढी नेकपा एमालेका मतदाता तथा नेता कार्यकर्तालाई कांग्रेसले पार्टी प्रवेश गराएका छन् । एमाले परित्याथ गरी कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरुलाई धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अबिरमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए ।

मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ । बैखाख महिनामा सम्पन्न स्थानीय तहको चुनाव एमालेबाट विन्देश्वर महतो वडाध्यक्षमा जितेका छन् ।