
ढल्केवर, धनुषा
नेकपा एकीकृत समाजवादीका नेता तथा धनुषा–४ ख प्रदेशसभा सदस्य गठबन्धनका साझा उम्मेदवार सत्रुधन महतोले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।
उनले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च थलो संसद विघटन गर्ने प्रतिगमनकारीका विरुद्ध उम्मेदवारी रहेकाले त्यस्ता शक्तिलाई परास्त गर्नकै लागि आफ्नो उम्मेदवारी रहेको र गठबन्धन पनि त्यसैका लागि निर्माण गरिएको बताए ।
जनताको मतको अवज्ञा गर्दै संसद विघटन गर्नेलाई मत दिँदा फेरि पनि जनताको घोर अपमान हुने हुँदा लोकतान्त्रिक वाम–गठबन्धनलाई निशंकोच मतदान गर्न समेत महतोले अपिल गरेका छन् ।
निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रममा रहेका महतोले उक्त कुरा बताएका हुन् । नेपाली जनताले झण्डै दुई तिहाई मत दिँदा समेत दुई–दुई पटक संसद विघटन गर्ने प्रतिगमनकारीहरुलाई जनतासँग मत माग्ने अधिकार समेत नभएको महतोको दावी छ ।
गठबन्धनको साझा भावनाअनुसार भावी योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै आफूलाई निर्वाचित गराउने जनताको पक्षमा जनमुखी काम गर्नु आफ्नो प्रमुख दायित्व रहेको हुँदा यसमा कसैले दुविधामा नपर्न समेत महतोले आग्रह गरे ।
महतोले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताउँदै आसन्न निर्वाचनमा आफ्नो जित स्पष्ट रहेको बताए ।