धनुषा–४ मा सत्तारुढ गठबन्धनको जित सुनिश्चि छ : महेन्द्र यादव

|

ढल्केवर, धनुषा

नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले धनुषा निर्वाचत क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनको जित सुनिश्चिछ रहेको दावी गरेका छन् ।

निर्वाचन क्षेत्रको विभिन्न गाउँमा घरदैलो अभियानको क्रममा भेटिएका उनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित रहेको बताए । धनुषा–४ नम्बर क्षेत्रमा गठबन्धनबाट बागी उम्मेदवार नरहेको गठबन्धनका उम्मेदवारलाई जनताले मतदान गर्न आतुर रहेकाले जित सुनिश्चित रहेको जानकारी दिए ।

जनताको मतको अवज्ञा गर्दै दुई–दुई पटक संसद विघटन गर्ने प्रतिगमनकारी शक्तिलाई यसपाली जनता परास्त गर्ने बताउँदै नेता यादवले वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै काग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै यहाँको जनताले रुचाएकाले पनि आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको जित हुने दावी गरे ।

उनले कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । कांग्रेस नेता यादवले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारले विजय हासिल गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेता यादवले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसंग जोड्दै उनले भने ‘वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन्। प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो। यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ।’