ढल्केवरमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा महिला हिँसा विरुद्धको १६ दिने अभियानको सुरुवात भएको छ । ३१ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियान मंसिर ९ गतेबाट सुरु भएको हो ।

मिथिला नगरपालिकाको आयोजना तथा टिपिओ नेपाल, ओरेक नेपाल, पोसिवल, एसिया फाउण्डेसन, मिथिला युवा सञ्जाल, सेतो लालीगुरास, हेमवन्ती नेपाल, दलित महिला केन्द्र, बाल सञ्जाल, र महिला मानव अधिकार रक्षक नगर सञ्जालको सहयोगमा आयोजनामा ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ भन्ने मुल नारासहित ब्यानर तथा प्लेकार्ड बोकेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।

आयोजकले १६ दिने अभियान अन्तर्गत ढल्केवरमा ¥याली तथा कोणसभा गरेको छ । ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालयबाट निस्किएको ¥याली ढल्कवर चौकको परिक्रमा गरी ढल्केवरस्थित पार्कमा जम्मा भएकर कोणसभा गरेको थियो ।

१६ दिने अभियानको शुभारम्भ गर्दै मिथिला नगरपालिकाको उपमेयर सुनिता सिंह बुढाथोकीले विभिन्न प्रलोभनमा पारि महिला हिंसा बढिरहेको बताइन् । उनले समाजमा हिंसा नदेखिए पनि भित्रभित्रै भुसको आगो झै सल्किरहेको हुनाले हिँसा न्युनिकरणका लागि हिंसामा परेको महिलाहरु कानूनी सहायता लिन अगाडि बढ्नु पर्ने कुरामा जोड दिइन् ।

यस्तै, टिपिओ नेपालकी प्रतिनिधि बिना कडारीले महिलाहरुले आफुमाथि भएको हिंसा बाहिर ल्याउन नसकेका कारण अझबढि हिंसाको शिकार बन्ने गरेको बताइन् । उनले १६ दिने अभियान अन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने जनाइन् ।