
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, विरेन्द्रबजारस्थित पूर्व–पश्चिम लोकमार्गमा विङ्गर र बलेरो एकआपसमा ठोक्किँदा विङ्गरमा सवार पाँच जनाको मृत्यु र नौजना घाइते भएका छन् ।
शनिबार बिहान पूर्वबाट पश्चिमतर्फ आइरहेको बा १ च ८२९३ नम्बरको विङ्गर र विपरित दिशाबाट गइरहेको ज १ च १४९६ नम्बरको बलेरो जीप एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपककुमार रायले बताउनुभयो ।
ठक्करबाट विङ्गरमा सवार पाँच जनाको मृत्यु भएको र नौजना घाइते भएको उहाँले जानकारी दिनुभयो । ठक्करबाट गम्भीर घाइतेमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जनाको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रवक्ता रायले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा तीन जना महिला, एक बालक र एकजना पुरुष छन् । मृत्यु हुनेहरुमा धनुषाको मुखियापट्टी मुसहरनिया–४ की २९ वर्षीया रुवी साह, धनौजी गाउँपालिका–४ का अब्दुल मन्सुरी, महोत्तरीको रामगोपालपुर नगरपालिका–७ ससौलाका १७ वर्षीया मन्जुकुमारी साह, सोही ठाउँ बस्ने १३ वर्षीया सृजना साह र अन्य एक जनाको सनाखत हुन बाँकी रहेको प्रवक्ता रायले जानकारी दिनुभयो ।
मृतकहरुको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र दुर्घटनामा परेका सवारीहरु प्रहरी नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो ।