
धनुषाको ढल्केवरस्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्साको व्यवस्था गरेको छ । अस्पतालले आँखा जचाँउन आउनेजाने बिरामीका लागि ई–रिक्साको निःशुल्क व्यवस्था गरेको हो ।
आँखा जाँच गराउने आउनेहरुलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयूकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले बताउनुभयो । उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस भनेर यो व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
ढल्केवर चौकदेखि करिब एक किलोमिटर पूर्व–उत्तरमा आँखा अस्पताल पर्दछ । सो अस्पतालसम्म पुग्न अन्य भाडाको सवारी प्रयोग गर्दा एक सयदेखि दुई सय रुपियाँसम्म भाडा पर्दछ ।
असोज महिनाबाट सञ्चालनमा आएको सुविधा सम्पन्न रेयूकाई एईको मासुनागा आँखा अस्पतालमा अहिले दैनिकजसो एक सयभन्दा बढी आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् ।
अमेरिकन समाजिक संस्था डोली इन्टर्मड इन्टरनेशनलको करिब तीन करोड लागतमा निर्माण भएको यस आँखा अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचारको सुविधा उपलब्ध रहेको महासचिव शर्माले बताउनुभयो ।
अस्पतालमा नेत्ररोग विशेषज्ञ चिकित्सकद्वारा उपचार एवम् शल्यक्रियाका लागि चाहिने सबै अत्याधुनिक उपकरणसहित सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट