
ढल्केवर, धनुषा
जिल्ला भूमि अधिकार मञ्ज धनुषाको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । धनुषाको ढल्केवर बिहीबार भूमि अधिकार मञ्च धनुषाका अध्यक्ष इच्छाराम परियारको अध्यक्षता तथा प्रदेश सांसद हरिनारायण महतोको प्रमुख आथित्य एक सभाबीच सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा प्रदेश सांसद हरिनारायण महतोले वर्षौंदेखि जकडिएर रहेको भूमिको समस्या समाधानका लागि आफू सदैव भूमिहिनको साथमा रहेको भूमिहिनको समस्या प्रदेश सभामा उठाउने बताए । उनले गाउँ–गाउँमा सिंहदरबार पुगे पनि भूमिहिनको समस्या ज्यूँका त्युँ रहेको जानकारी दिए ।
त्यस्तै, सम्मेलनमा राष्ट्रिय भूमि अधिकार मञ्ज नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङ्वाले २००६ सालदेखि राजनीतिक दलले विभिन्न आन्दोलन गरे पनि त्यो आन्दोलन भूमिहिन र सिमान्तकृत परिवारको आन्दोलन नभएको बताए । हरेक राजनीतिक आन्दोलनमा भूमिहिनको सहभागिता हुन्छ तर भूमिहिनको समस्या कहिल्यै समाधान भएन । भूमिहिनको समाजिक आन्दोलनले प्राथमिकता नपाएको उनको गुनासो थियो ।
यसैगरी, प्रदेश भूमि अधिकार मञ्चका अध्यक्ष मदन बिकले चुनावमा मात्र भूमिहीनको प्रयोग गरे तर भूमिहीनको समस्या जहिको तही रहेको बताए ।
२०६१ सालमा गठन भएको मञ्चको पाँचौ कार्यकाल पूरा गरी छै्रंठौ कार्यकालको लागि मञ्चको सम्मेलनले रामबाबु साहको अध्यक्षतामा सम्मेलनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः अनिसा खातुन, रामचन्द्र थापा मगर, पासो सदा, रामबिनोद ठाकुर, सदस्यहरुमा गुलावदेखी सदा, उमा बि.क., सिर्जना परियार, विजय विश्वकर्मा, रामकुमार बुढाथोकी, शसिकला बम्जन चयन भएका छन् ।
सम्मेलनमा बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, थिरेश्वर नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका र सबैला नगरपालिकाबाट भूमि अधिकारबाट बञ्चित ४५७ जना प्रतिनिधी एवं पर्यवेक्षकले भाग लिएका थिए ।
सम्मेलनमा मञ्चको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफल गरी पारित गरिएको थियो । धनुषा जिल्लामा रहेको भूमिहीन सुकुम्बासी, मोही, गुठी, हरवा चरवा, चुरे र अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्चले वकालतिय अभियान गरिरहेको छ । सम्मेलनको अन्त्यमा मञ्चले सरकारसँग मागराखी १४ बुँदे भूमि सम्बन्धी धनुषा घोषणापत्र जारी गरेको छ ।