
ढल्केवर, धनुषा
आसमान नेपाल धनुषा शाखाको आयोजनामा एकदिने अन्तरक्रिया तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार धनुषाको ढल्केवरस्थित कोमल होटलको सभाकक्षमा निक शिक्षा दिअ परियोजना सम्बन्धी अन्तरक्रिया तथा सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरिक्रिया कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले निक शिक्षा दिअ परियोजनाको उद्देश्यबारे चर्चा गर्नुभयो । सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्ने परियोजना लक्ष्य रहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यकारी निर्देशक यादवले लक्ष्य प्राप्तिका लागि परियोजनासँग जोडिएका सदस्यहरुले आ–आफ्नो स्थानबाट योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
आसमान नेपाल धनुषा शाखाका कार्यक्रम व्यवस्थापक सत्यकुमार महतोले सरकारले सामुदायिक विद्यालयमा आधारभूत शिक्षा निःशुल्क गरेपनि विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई पूर्ण समय दिवा स्कूलमा ल्याउने वातावरण मिलाउन सदस्यहरुलाई सुझाव दिनुभयो ।
सिमान्तकृत समुदायका बालबालिका अझै पनि विद्यालय बाहिर रहेकाले ति बालबालिकाको समस्यालाई सहजीकरण गर्दै विद्यालय भर्ना गराउने दायित्व सदस्यहरुको भएको उहाँले बताउनुभयो । विद्यालय भर्ना गराउने आइपर्ने कानूनी तथा प्राविधिक जटिलताका विषयमा अभिभावक, स्थानीय प्रतिनिधि र विद्यालय व्यवस्थाप समितिका पदाधिकारीसँग छलफल चलाएर निकास खोज्न सकिने कार्यक्रम व्यवस्थापक महतोले अन्तरक्रिया कार्यक्रममा जानकारी दिनुभयो ।
यस्तै, निक शिक्षा दिअ परियोजनाका मधेस प्रदेश संयोजक रक्कीप्रसाद साहले जन्मदर्ताको अभाव तथा कमजोर आर्थिक अवस्थाका कारण सिमान्तकृत समुदायका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको बताउनुभयो । सामुदायिक विद्यालयमा आधारभूत शिक्षा निःशुल्क भएपनि सामान्य कामी र कलमको अभावमा विद्यालय भर्ना हुन नपाएका बालबालिकालाई पूर्ण समय औपचारिक दिवा स्कुलमा टिकाउनुपर्छ भनी जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा आसमान नेपालसँग आवद्ध धनुषा र महोत्तरी जिल्लाका साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।