दिलिप हत्या मुद्दाको फैसला सम्भवत् आज, बहस चल्दै

|

ढल्केवर, धनुषा

पर्यावरण अभियानी ओमप्रकाश महतो ‘दिलिप’ हत्या मुद्दाको फैसला सम्भवत् आज (बिहीबार) हुने भएको छ । धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरका दिलिपको हत्या भएको थियो । दिलिपलाई २०७६ पुस २५ गते चुरियामाई बालुवा प्रशोधन क्रसर उद्योगमा आवद्ध व्यक्तिहरुले औरही खोलामा हत्या गरेको थियो । उनको शरीरमा फलामको रडले घोचेर घाइते बनाई टिपरले किचेर हत्या भएको थियो ।

हत्यासम्बन्धमा बुधबार जिल्ला अदालत धनुषामा बहस नसकिएपछि मुद्दा हुेर्दा–हेर्दैमा राखिएको थियो । सो मुद्दा उपर आज बिहीबार पुनः सुरुमै मुद्दाको बसह सुरु भएको छ । बिहीबार नै बहस सकिएर फैसला आउने सम्भावना धेरै रहेको जाहेरीवालाका वकिल वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले जानकारी दिए ।

‘दुबैको तर्फबाट वकिलको संख्या बढी छ,’उनले भने,‘तर मुद्दा हेर्दा र्हेदैमा राखिएपछि ११ बजेदखि नै बहस सुरु हुन्छ । त्यसकारण फैसला आउने सम्भावना धेरै छ ।’ बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश भिष्मराज प्रसाईको इजलासमा बहस भएको थियो ।
जोहरीवालाको तर्फबाट श्रेष्ठ, राजु फुयाल र शुभ्म आचार्यले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट मोहन प्रसाद दाहाल र प्रतिवादीकोतर्फबाट पनि एक वकिलले बहस गर्दा निर्धारित समय सकिएको थियो । जाहेरीवालाको वकिलले घटनाको सन्दर्भमा आफ्ना प्रमाणसहित तर्क प्रस्तुत गरेका थिए ।

बहस गर्न वादीको तर्फबाट काठमाण्डुका तीन अधिवक्ता आएका छन् । थप तीन जना अधिवक्ता बिहीवारको बहसमा सहभागी हुने बताइएको छ । पदम बहादुर श्रेष्ठ, अधिवक्ता आरजु कार्की र अधिवक्ता सडकोण आउन लागेका छन् । यी अधिवक्ताहरु पर्यावरण सम्बन्धी विज्ञ रहेका छन् ।

हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । उनीहरु अहिले तारेखमा छन् । दिलीप हत्या आरोपमा पक्राउ परेका रोशन कुमार यादव, विनादे महतो, सत्यनारायण महतो र शत्रुधन महतो रिहा भइसकेका छन् । मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्वपक्षका लागि थुनामा छन् ।

जाहेरीवालाको वकिलले आरोपितहरुमाथि जन्मकैद हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको मागसहित दाबी गरेका छन् । न्यायका लागि दिलीपको बुबा रामजी महतो र बहिनी लक्ष्मी महतो तीन वर्षदेखि अदालत धाइरहेका छन् । दश पटक उनको पेशी स्थगित नै गरिएको थियो । पेशी स्थगित हुँदा उनको घरपरिवार निराश भएका थिए ।