दिलिप महतो हत्या प्रकरण: थप व्यक्तिको बकपत्र गराउने जिल्ला अदालतको आदेशसँगै लम्बियो फैसला

|

ढल्केवर, धनुषा
धनुषाका दिलिप महतोको हत्या प्रकरणको मुद्दामा ३ वर्षपछि सुरु भएको सुनुवाइअन्तर्गत धनुषा जिल्ला अदालतले थप केही व्यक्तिहरुको बकपत्र गराउने आदेश गरेको छ। धनुषा जिल्ला अदालतले केही प्रहरी र घटनाको समयमा घटना विवरणको कागजमा सही गरेका १ व्यक्तिको बकपत्र गराउने आदेश गरेको हो।

न्यायाधीश भिष्मराज प्रसाईको एकल इजालसले कृष्णकुमार महतोको नाममा म्याद जारी गरि बकपत्र गराउन भनेको छ। त्यस्तै २०७६ मंसिर २५ गते खानतलासीपछि बरामदी मुचुल्का गरी प्रतिवेदन पेस गर्ने प्रहरी नायव निरीक्षक (सई) रामनरेश यादव, प्रहरी सहायक निरीक्षक (असई) राकुमार भण्डारी र प्रहरी हवल्दार कुलानन्दलाई उपस्थित गराइ बकपत्र गराउने आदेश गरेको छ।

तीन वर्षपछि सुनुवाइ सुरु हुँदा मुद्दा फैसलाको चरणामा जाने अपेक्षा गरिएको थियो। बुधबारबाट सुरु भएको सुनुवाइमा बिहीबार न्यायाधीशले यस्तो आदेश गरेका हुन्।

जिल्ला अदालतको यो आदेशपछि मुद्दाको फैसला हुने अवधि थप लम्बिने भएको छ। अदालतले आदेश गरेका व्यक्तिहरुको बकपत्रपछि मात्र फैसलाका लागि पेसी तोकिने छ।

स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलीपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो। क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर बिभत्स हत्या गरेको विषय प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उक्त हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो। दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

जाहेरीमा क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलीपका साथी रोशनकुमार यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम आजीवन कैद सजायको माग गरिएको थियो। उक्त घटनामा ६ जना तत्कालै पक्राउ परेका थिए।

जिल्ला अदालतले थुनछेक वहसपछि क्रसर सञ्चालकसहित केहीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनीन्द्र र जितेन्द्रकुमारलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। रोशन, सत्यनारायण र शत्रुघनलाई धरौटीमा छाडेको थियो।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका विनोदलाई २०७७ असोज २६ मा साधारण तारेखमा छोड्ने आदेश गरेको थियो। थुनछेक बहसपछि लामो समयसम्म उक्त मुद्दा पेसीमा चढ्ने, तर सुनुवाइ नहुने हुँदै आएको थियो। प्रतिवादीका एकपछि अर्को कानुन व्यवसायीले मुद्दा सार्ने निवेदन दिँदै सार्दै आएका थिए।

केही दिन अघि मात्र जिल्ला अदालतले उक्त मुद्दाको पेसी अब सार्न नपाइने आदेश नै गर्नुपरेको थियो। त्यसपछि मात्र उक्त मुद्दामा अन्तिम सुनुवाइ बुधबारबाट सुरु भएको थियो। तर अन्तिममा न्यायाधीशले उक्त घटनाका क्रममा प्रमाणहरु अप्रयाप्त देखिएको भन्दै उनीहरुको बयान लिनुपर्ने आदेश गरेका हुन्। नेपाल लाइभ