मिथिला नगरपालिकामा १५ बेडको अस्पताल प्रकरण :
ढल्केवर, धनुषा
धनुषास्थित मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले विभिन्न बहाना देखाउँदै फर्काइएको १५ बेडको अस्पताल वर्तमान मेयर महेन्द्र महतो पुनः ल्याउन सफल भएका छन् ।
नेपाल सरकारको ‘एक स्थानीय तहमा एक अस्पताल’ बनाउने योजनाअन्तर्गत मिथिला नगरपालिकाको ढल्केवरमा १५ बेडको अस्पतालन निर्माण गर्न योजना आएको थियो ।
योजना मुताबिक पूर्व मेयर हरिनारायणले सर्वप्रथम मिथिला नगरपालिका–६, ढल्केवरस्थित हेल्थपोटभित्र रहेको खाली जमिनमा १५ बेडको अस्पताल निर्माण गर्ने भनी २०७७ मंसिर १५ शिलान्यास गरेका थिए ।
शिलान्यास गरेको केही महिनापछि पूर्व मेयर हरिनारायणले सो अस्पताल निर्माणको योजना मिथिला नगरपालिका–३ हरिहरपुर सारेका थिए । त्यहाँ पनि उनले शिलान्यास गरेका गरे । तर, सरकारको मापदण्डमा नपरेपछि मिथिला नगरपालिका–५, श्रीपुरमा तेस्रो पटक शिलान्यास गरे । तर, त्यहाँ पनि विभिन्न कानुनी बाधा अड्चन आएपछि मिथिला नगरपालिका–७ गैरीटोलमा अवस्थित सात बिघा ऐलानी जमिनबाट १५ कट्टा जमिन १५ शैंया अस्पतालका लागि छुट्टयाए ।
मिथिला नगरपालिका–७ गैरीटोलमा अवस्थित सात विघा जमिनमध्ये लगभग ४ विघा जमिन ट्रमा सेन्टर निर्माणका लागि त्यसअघि नै सिफारिस भएको र सो ठाउँमा १५ बेडको अस्पताल आवश्यक नभएको भन्दै स्थानीयवासीले विरोध जनाएपछि पूर्व मेयर हरिनाराण महतोले २०७८ चैत ३० गते स्वास्थ तथा जनसंखया मन्त्रालयलाई पत्रचार गरी १५ शैंयाको अस्पताल निर्माण गर्न नसकिने जानकारी गरायो ।
पत्रको आधारमा स्वास्थ तथा जनसंख्या मन्त्रालयलले मिथिला नगरपालिकाको सदरमुकाममा बन्ने १५ बेडको अस्पताल निर्माणको योजना रद्द ग¥यो । अस्पताल निर्माणका लागि पहिलो चरणमा ३ करोडभन्दा बढी रकम नेपाल सरकारले विनियोज गरी नगरपालिमा पठाएको थियो ।
ढल्केवरमा निर्माण हुने भनिएको १५ बेडको अस्पताल रद्द भएपछि वर्तमान मेयर महेन्द्रले निकै दौडधुप गरेर पुनः सो योजना ल्याउन सफल भएको बुझिएको छ ।
स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले २०७९ मंसिर २९ गते मिथिला नगरपालिकाको च.न.७७५ को पत्रबाट महेन्द्र माध्यमिक विद्यालयको नाउँमा दर्ता कायम रहेको जिल्ला धनुषा साविक ढल्केवर गाविस वडा नं. ५ को कित्ता नं. ७१ को १ विघा चौध धुर क्षेत्रफलको जग्गा मध्ये १३ कठ्ठामा १५ शैया अस्पताल निर्माणको लागि सहमति दिएको छ ।
उक्त अस्पताल निर्माण गर्न डि.पि.आर तयार गरेर मेयर महतोले मन्त्रालयमा दबाब दिएपछि सहमति दिएको हो ।
दुई वर्षमा झण्डै १८ करोड बजेट आउँदा पनि पूर्व मेयर हरिनारायणले अन्त्यमा हामी अस्पताल बनाउन नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएपछि मन्त्रालयले ढल्केवर अस्पतालको बजेट हटाएको थियो । तर मेयर महतोले ढल्केवरमा अस्पताल बनाउन र बजेट छुट्याउन दबाब तथा दौडधूप गरेपछि अस्पताल निर्माणको सहमति आएको हो ।
१५ बेडको आधारभूत अस्पताल निर्माण गर्ने प्रयोजनका लागि मन्त्रालयको सचिवस्तरको बैठकबाट सहमति दिएको निर्णय गरेको मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जनाए ।
स्वास्थ्य क्षेत्रतर्फ नगरमा हामीले १५ बेडको अस्पताल निर्माणका लागि सहमति पाईसकेका छौं । अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएका छौं । स्वास्थ्य क्षेत्रलाई हामीले प्राथमिकतामा राखेरा अगाडि बढेका छौं । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा हामीले विशेष जोड दिइरहेका छौं । नगरपालिकामा रहेका सबै नागरिकहरूको पहुँच स्वास्थ्य सेवासम्म पुर्याउँछौं । हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले स्वास्थ्य सेवा प्रवाह गर्छौं, मेयर महेन्द्र भने ।
हामीले भौतिक पूर्वाधार, सामाजिक विकाससंगै सवै कामलाई सन्तुलित रूपमा लिएर अगाडि बढेका छौं, मेयर महेन्द्रले भने –मानव विकास गर्ने, दक्ष जनशक्ति निर्माण गरी रोजगारी सिर्जना गर्ने र जीवनको गुणस्तर बढाउने भौतिक तथा मानवीय विकासका पूर्वाधारहरूका कामलाई समेत अगाडी बढाएका छौं । यस्तै ढल्कवेरमा नै हामीले छिट्टै ईमरजेन्सी सेवा सुरु गर्दैछौं ।
अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको छ । मिथिला नगरपालिका वडा नंं. १ का अध्यक्ष जोगी महतोले भने, सामान्य बिरामी भएको अवस्थामा पनि बाहिर लैजानुपर्ने अवस्थाको अन्त्य हुने आशा छ । कतिपयले प्राथमिक उपचार पनि नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको उनले बताए ।