धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु, एकजना घाइते

|

ढल्केवर, धनुषा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान अन्दाजी १० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बसले पूर्वबाट पश्चिमतर्फ आइरहेको ज १२ प १४९२ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । ठक्करबाट मिथिला बिहारी नगरपालिका–१ भूतिही पटेर्वाका अन्दाजी ५५ वर्षिय चन्द्रदीप यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवारमा सोही ठाउँका ३४ वर्षिय लक्ष्मण यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।